काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, खेलकुद पूर्वाधारको अवस्था र व्यवस्थापकीय समन्वयका विषयमा संघीय र प्रदेश सरकारबीच छलफल भएको छ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आइतबार सुर्खेतमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकास मन्त्री जीतबहादुर मल्लसँग प्रतियोगिताको तयारीबारे छलफल गरेका हुन्।
भेटमा प्रतियोगिताका लागि आवश्यक खेलकुद पूर्वाधारको निर्माण तथा व्यवस्थापन, बाँकी तयारी र संघीय तथा प्रदेश सरकारबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो।
छलफलका क्रममा मन्त्री पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै सम्पन्न गर्न मन्त्रालयले सम्बन्धित निकाय र सरोकारवालासँग सहकार्य गरिरहेको बताए। प्रतियोगिताको आयोजना स्थल कर्णाली प्रदेशमा आवश्यक खेलकुद पूर्वाधार विकास तथा व्यवस्थापनका लागि संघीय सरकारबाट सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री मल्लले प्रतियोगिता सफल बनाउन प्रदेश सरकारले आवश्यक तयारी अघि बढाइरहेको जानकारी गराए। उनीहरूले प्रतियोगितासँग सम्बन्धित अधिकांश तयारी अन्तिम चरणमा पुगेको उल्लेख गर्दै बाँकी काम सम्पन्न गर्न संघीय सरकारसँग समन्वय आवश्यक रहेको बताए।
दशौँ राष्ट्रिय खेलकुदको आयोजना कर्णाली प्रदेशमा हुने भएकाले प्रतियोगिताका लागि आवश्यक पूर्वाधार तयार पार्ने, खेलस्थलको व्यवस्थापन गर्ने र सम्बन्धित निकायबीच जिम्मेवारी स्पष्ट गर्ने विषयलाई प्राथमिकता दिइएको छ।
मन्त्री पोखरेल हाल प्रतियोगिताको तयारीको अवस्था बुझ्न, खेलकुद पूर्वाधार निरीक्षण गर्न तथा सम्बन्धित सरोकारवालासँग समन्वय गर्न सुर्खेत भ्रमणमा छन्।




