काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले तनहुँको आबुखैरेनीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा स्थानीयसँग समसामयिक विषयमा छलफल गरेका छन् ।
आज भएको छलफलमा स्थानीयका समस्या, जिल्लाको शान्ति सुरक्षा, अनलाइन ठगी तथा विपद्मा परेका नागरिकका विषयमा कुराकानी भएको रास्वपा नेता वासु पन्तले जानकारी दिए ।
छलफलका क्रममा स्थानीयले भोगिरहेका विभिन्न समस्या र समसामयिक विषयबारे गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराइएको थियो । विशेष गरी भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूका परिवारले सरकारका तर्फबाट भइरहेका काम तथा पीडित परिवारका लागि चालिएका कदमबारे जिज्ञासा राखेका थिए । विपद्मा परेका परिवारको अवस्था र उनीहरूका समस्याबारे स्थानीयले चासो व्यक्त गरेका थिए ।
त्यस्तै, तनहुँ जिल्लाको शान्ति सुरक्षाको अवस्था र पछिल्लो समय बढ्दो अनलाइन ठगीका विषयमा गृहमन्त्री गुरुङलाई जानकारी गराइएको थियो । अनलाइन माध्यमबाट हुने ठगीका घटनाले सर्वसाधारणलाई पार्न सक्ने असर तथा यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक कदमबारे छलफल भएको पन्तले बताए ।
छलफलका क्रममा आबुखैरेनीमा गत चैतमा करेन्ट लागेर हात काट्नुपरेका एक व्यक्तिले हालसम्म राहत नपाएको गुनासो उठेको थियो । दुर्घटनाका कारण शारीरिक क्षति व्यहोर्नुपरेको अवस्थामा पनि राहत नपाएको विषय गृहमन्त्री गुरुङसमक्ष प्रस्तुत भएपछि उनले तत्काल चासो देखाएका थिए ।
गृहमन्त्री गुरुङले उक्त विषयमा सम्बन्धित निकायबाट आवश्यक पहल गर्न प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर राहत उपलब्ध गराउने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका थिए । पीडितले राहत नपाएको गुनासोपछि गृहमन्त्री गुरुङले सम्बन्धित प्रशासनिक अधिकारीलाई नै सम्पर्क गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।




