१७ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षण र सिकाइमा एआईको बढ्दो प्रयोग : अवसर, चुनौती र भावी रणनीति

अ अ+ अ-

पृष्ठभूमि
शिक्षण सिकाइका विधि र प्रविधिहरूको चर्चा-परिचर्चा त हामीहरूले दिनहुँ सुनिरहेका नै हुन्छौँ। शिक्षकमा भएको ज्ञान, सीप र क्षमतालाई कसरी प्रभावकारी तरिकाले विद्यार्थीमा हस्तान्तरण गर्ने र विद्यार्थीले कुन तवरले ग्रहण गर्ने भन्ने विषयमा समयको रूपान्तरणसँगै विविध अन्तरक्रिया र बहस हुने गरेको पाइन्छ।

शिक्षण र सिकाइ शिक्षकले विषयवस्तुलाई जस्ताको त्यस्तै प्रस्तुत गर्ने र विद्यार्थीहरूले त्यसलाई कण्ठ गर्ने समयबाट रूपान्तरण हुँदै वर्तमान स्थितिमा विभिन्न आधुनिक सूचना तथा सञ्चार प्रविधिको सहज तवरले प्रयोग गर्दै सिकाउने र सिक्ने अवस्थासम्म आइपुगेको छ।

विषय प्रवेश
शिक्षण र सिकाइमा एआईलगायत सर्च इन्जिनको बढ्दो प्रयोग
विद्यमान समयमा एआईलगायतका आधुनिक सूचना तथा सञ्चार प्रविधिले शिक्षण सिकाइलाई सहज र द्रुत बनाएका छन्। गुगल जेमिनी, च्याटजीपीटी, साइसपेस, सिमान्टिक स्कलर, म्याजिकस्कुल डट एआई, डिफिट, ब्रिस्क टिचिङजस्ता असंख्य माध्यमहरू शिक्षण सिकाइमा अत्यधिक रूपमा प्रयोगमा आइरहेका छन्।

शिक्षक तथा विद्यार्थीले आफूलाई आवश्यक विषयमा सही प्रम्प्ट राखेर उपरोक्त माध्यमहरूबाट ज्ञानको खोजी र प्रयोग गर्न सक्छन्। यस्ता माध्यमहरूको प्रयोगबाट छिनभरमै सूचना सङ्कलन गर्ने अभ्यास द्रुत गतिमा बढिरहेको छ। यस्ता स्रोतहरूले शिक्षण र सिकाइलाई थप प्रभावकारी, नवप्रवर्तनात्मक, अनुसन्धानयुक्त र विश्व परिवेश सुहाउँदो बनाएका छन् भन्ने बुझाइ विद्यार्थी, शिक्षक, अभिभावक, शैक्षिक अनुसन्धानकर्ता तथा आम सरोकारवालाहरूको रहेको छ।

सर्च इन्जिनको प्रयोगले शिक्षक र विद्यार्थीमा ज्ञानको खोजी गर्ने, सङ्कलन गर्ने तथा विश्लेषण गर्ने अभ्यास अत्यधिक रूपमा बढिरहेको छ। यसको प्रयोगले ज्ञान सङ्कलनमा कसैसँग गुहार माग्नुपर्ने स्थितिको समेत अन्त्य गरिरहेको छ।

मोबाइल, ल्यापटप, डेस्कटपलगायतका सामग्रीका साथमा इन्टरनेटको पहुँचमा बसेर विश्वभरका शिक्षण सिकाइका विद्यमान अभ्यासहरू, मूल्याङ्कन तथा अनुसन्धानका विषयमा खोज गरी शीघ्र रूपमा सूचना सङ्कलन गरेर समयको समेत बचत गर्न सकिने भएको छ। एआईको बढ्दो प्रयोगले शिक्षण सिकाइलगायतका हरेक पेसागत क्षेत्रका पेसाकर्मीहरूलाई समेत सहज बनाइरहेको छ।

एआईलगायतका सर्च इन्जिन प्रयोगको समालोचनात्मक विश्लेषण
हामीले हाम्रो दैनिक जीवनमा भोग्दै, सिक्दै र प्रयोग गर्दै आएका हरेक अवस्था तथा वस्तुहरूका सबल र दुर्बल पक्ष दुवै सँगसँगै नै आउँछन्। सबल पक्षहरूलाई स्वीकार र प्रयोग गर्दाको बखत दुर्बल पक्षहरूलाई पनि स्वीकार्नु र व्यवस्थापन गर्नुको विकल्प छैन।

आधुनिक प्रविधिहरूलाई शिक्षण सिकाइमा प्रयोगमा ल्याउँदा मूलभूत रूपमा शिक्षक र विद्यार्थीको हकमा यसको प्रयोगका सबल र दुर्बल पक्षहरूबारे तल चर्चा गरिएको छ :

एआई प्रयोगका सबल पक्षहरू
शिक्षकको हकमा
माथि पृष्ठभूमिमा एआईअन्तर्गत सर्च इन्जिनहरूको प्रयोग कसरी र कुन मात्रामा बढिरहेको छ भन्ने उल्लेख भइसकेको छ। यस्ता प्रकारका आधुनिक प्रविधिहरूले शिक्षकहरूलाई स्वावलम्बी, स्वचालित, अनुसन्धानमुखी र सक्रिय बनाउन मद्दत त गरिरहेका छन् नै, यसका अलावा शिक्षण आधुनिक सूचना तथा सञ्चार प्रविधिको प्रयोगबिना असम्भव र निष्क्रिय रहन्छ भन्ने विषयसमेत प्रमाणित भइसकेको छ।

वर्तमान समयमा शिक्षकले विद्यार्थीमा कुनै विषयवस्तुको ज्ञान हस्तान्तरण गर्नुअगावै विद्यार्थीले सो विषयमा पहिले नै सामग्री खोजेर अध्ययन–विश्लेषण गर्ने कार्य असीमित रूपमा बढिरहेको छ। यस्तो प्रविधिका कारणले शिक्षण विधिलाई थप प्रभावकारी, उत्प्रेरणायुक्त, बृहत् र प्रतिस्पर्धायुक्त बनाइरहेको छ। यसका साथसाथै शिक्षकलाई डिजिटल सामग्रीहरूको खोजी र प्रयोगमा पोख्त बनाइरहेको छ।

विद्यार्थीको हकमा
यस्ता सर्च इन्जिनका माध्यमबाट कुनै पनि विषयवस्तुमा विश्वभर कसरी सिकाइ भइरहेको छ, सिकाइ शैलीमा के–कस्ता विविधता तथा समानताहरू रहेका छन्, आफ्नो तथा शिक्षकको यस विषयमा भूमिका कस्तो हुन्छ, आफूले के–कस्ता बानी तथा व्यवहारहरूको निर्माण गर्नुपर्दछ भन्ने विषयमा विद्यार्थीहरू पहिले नै सचेत र सिकाइका लागि तयार रहनसमेत व्यापक योगदान गरिरहेको छ।

यसपश्चात् शिक्षकको प्रस्तुतीकरणपछि आफूमा भएको ज्ञानलाई तुलना गर्ने, परिमार्जन गर्ने र निचोडमा पुग्नका लागि समेत विद्यार्थीलाई निकै नै सहयोग भइरहेको देखिन्छ।

एआई प्रयोगका दुर्बल पक्षहरू
शिक्षक वा सहजकर्ताको हकमा
शिक्षक वा सहजकर्ता हरेक विषयमा सर्च इन्जिनमा नै आश्रित भएको खण्डमा यसले शिक्षकको आत्मज्ञान, स्वनिर्देशन, विश्लेषणात्मक क्षमता, तुलनात्मक अध्ययन र सोचनीय क्षमतामा ह्रास ल्याउने देखिन्छ।

शिक्षक शिक्षण सिकाइको एक डिजाइनर र आर्किटेक्ट भएको अवस्थामा रेडिमेड सामग्रीहरू सिधै कक्षाकोठामा प्रस्तुत गर्दा क्षणिक रूपमा त त्यसले ज्ञानको दायरा ठूलो छ भन्ने अर्थ दिन सक्ला, तर बारम्बार यसको अत्यधिक प्रयोगले झन् परजीवी र स्वकार्यमा निष्क्रिय बनाउँदै लैजाने देखिन्छ।

एक शिक्षकले पाठ्यक्रमको अध्ययन, पाठ्यसामग्रीहरूको सङ्कलन, प्रस्तुतीकरणको योजनाको सट्टा तयारी सामग्रीहरूलाई जस्ताको त्यस्तै प्रस्तुत गर्दा त्यसले भविष्यमा कस्तो असर पार्दछ, आकलन गर्न सकिन्छ। यसको अर्थ सर्च इन्जिनको प्रयोग नै नगर्ने भन्ने चाहिँ होइन। यस विषयमा अन्त्यमा चर्चा गरिनेछ।

विद्यार्थी वा सिकारुको हकमा
शिक्षण सिकाइ केवल ज्ञानको हस्तान्तरण र ग्रहण मात्र होइन। यो शिक्षक र विद्यार्थीको एकअर्काप्रतिको सम्मान हो, विश्वास हो। शिक्षक विद्यार्थीका लागि एक असल मार्गदर्शक र विद्यार्थी शिक्षकका लागि सिक्न तयार एक भोको बालक हो। यसै विचारबाट नै हाम्रो शिक्षण सिकाइ परम्परा अगाडि बढिरहेको छ।

तर वर्तमान समयमा सर्च इन्जिनका कारणले विद्यार्थीले शिक्षकले निर्देश गरेका विषयहरूको अवज्ञा गर्ने, कक्षाकोठामा सहपाठी छलफल नहुने, सिक्नका लागि तुरुन्त तत्पर नहुनेलगायतका बानी–व्यवहारहरू देखिने गरेका छन्।

यस्तो किन भयो भने विद्यार्थीहरू शिक्षकले प्रस्तुतीकरण गर्ने विषयमा पहिले नै सामग्री खोज्ने, त्यसलाई जस्ताको त्यस्तै नक्कल गर्ने र सिक्ने हरेक कार्यमा म अब्बल छु भन्ने प्रवृत्ति हाबी हुँदै गएको देखिन्छ। जसले गर्दा विद्यार्थीका वास्तविक र मौलिक सीप, सोच तथा क्षमताहरू लुप्त हुँदै जाने, सिकाइमा एक्लोपन बढ्ने, सामाजिकीकरण नहुने र अन्तर्मुखी स्वभाव बढ्दै जाने देखिन्छ।

भावी रणनीति
शिक्षण सिकाइमा आधुनिक सर्च इन्जिनहरूको प्रयोग आफैँमा नराम्रो होइन, तर यसलाई कुन तवरले प्रयोग गरिन्छ भन्ने विषय मुख्य चासो हो। हामी पूर्ण रूपमा यसमा निर्भर रहने कि यसलाई सहयोगी साथीका रूपमा स्थापित गर्ने भन्ने आलोचनात्मक चेत शिक्षक, विद्यार्थी, अभिभावक, नियामक निकाय वा सरोकारवालाहरूमा हुनुपर्दछ।

त्यो हाम्रो आदर्श, उद्देश्य र सक्रियताले नै निर्धारण गर्दछ। यसका दुर्बल पक्षहरूअन्तर्गत जस्तासुकै विषय उल्लेख भए तापनि यसको उचित प्रयोगले शिक्षण सिकाइ अनुकरणीय र उत्कृष्ट हुनेमा दुईमत छैन।

परम्परागत रूपमा साक्षरता सामान्य लेखपढ गर्ने, दैनिक जीवनमा आइपर्ने समस्याको समाधान गर्नेलगायतका विषयका रूपमा परिभाषित थियो। त्यसपश्चात् डिजिटल साक्षरताको विषय अगाडि बढ्यो। सर्च इन्जिन तथा बढ्दो आधुनिक प्रविधिका कारणले अब भने आलोचनात्मक डिजिटल साक्षरताको आवश्यकता भएको देखिन्छ।

शिक्षण सिकाइमा शिक्षक र विद्यार्थीले एआईमार्फत सामग्रीहरू सङ्कलन गरे तापनि ती सामग्रीहरूलाई आफ्नो पूर्वज्ञानसँग तुलना गर्ने, पूर्वज्ञानसँग कति हदसम्म मिल्दो छ पत्ता लगाउने, वास्तविक हो वा होइन पत्ता लगाउने, त्यो सामग्री आफ्नो सीप, दक्षता र विश्लेषणात्मक क्षमताबमोजिम उपयुक्त हो वा होइन पत्ता लगाउनेजस्ता कार्य स्वयं प्रयोगकर्ताले समयमै पहिचान गरी सोहीबमोजिम आफ्ना कार्यहरूलाई निर्देशित गर्नुपर्ने देखिन्छ।

सर्च इन्जिनहरूको प्रयोग कुन रूपमा भइरहेको छ भन्ने पत्ता लगाई सोहीबमोजिम आफूलाई मार्गनिर्देश गर्न प्रयोगकर्ता स्वयंले आफूलाई डिजिटल अडिट गर्नुपर्ने देखिन्छ।

विद्यार्थीले आफ्नो सीप र सिकाइ क्षमतालाई परनिर्भर बनाउनु हुँदैन। शिक्षकले आफ्नो मौलिक ज्ञान, शिक्षण कला र सीपलाई विकास गर्नुपर्छ अर्थात् आफ्नो वास्तविक क्षमतालाई मृत बन्न दिनुहुँदैन।

यस्ता प्रकारका एआई सामग्रीहरूको प्रयोगका सन्दर्भमा अभिभावकहरूले आफ्ना बालबच्चाहरूको वास्तविक ज्ञान समयमै पत्ता लगाई सोहीबमोजिम घरायसी वातावरण निर्माण गर्नुपर्दछ। शिक्षण सिकाइमा सर्च इन्जिनको प्रयोगका सन्दर्भमा नियामक निकायहरूले समयानुकूल व्यावहारिक प्रकारका प्रयोगकर्ता निर्देशिका तथा स्रोत सामग्रीहरू जारी गर्ने तथा परिमार्जन गर्नुपर्ने देखिन्छ।

निष्कर्ष
शिक्षण सिकाइमा एआईलगायतका सर्च इन्जिनहरूको सान्दर्भिक प्रयोगले शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरूलाई अकल्पनीय फाइदा पुर्‍याउने देखिन्छ।

अबको डिजिटल र आधुनिक शिक्षण सिकाइ पद्धतिको सारभूत लक्ष्य आलोचनात्मक डिजिटल साक्षरताको अवधारणालाई व्यापक रूपमा शैक्षिक वातावरणमा अभ्यासमा ल्याउने, सर्च इन्जिन प्रयोगकर्ताको मौलिक र वास्तविक ज्ञानको प्रवर्द्धन गर्ने, शिक्षण कौशल र सिकाइ कौशललाई स्वनिर्देशित बनाउने र मिथ्या सूचना तथा विषयवस्तुहरूलाई समयमै पहिचान गरी शिक्षण सिकाइलाई वैज्ञानिक, वस्तुगत, प्रविधियुक्त र उत्प्रेरणायुक्त बनाउने विषयमा उन्मुख हुनुपर्ने देखिन्छ।

0 Comments