काठमाडौँ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्यादेखि जनकपुरधामसम्म सञ्चालन हुने सरयू-कमला एक्सप्रेस रेल सेवाले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप नजिक बनाउने बताएका छन्।
रेल सेवाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आदित्यनाथले अयोध्या र मिथिलाबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई रेलमार्गले पुनः जोडेको उल्लेख गरेका हुन्।
उनले दुई धार्मिक तीर्थस्थलबीच रेल सेवा सञ्चालनको व्यवस्था मिलाएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरे। समारोहमा उपस्थित नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई पनि उनले उत्तर प्रदेशका नागरिकका तर्फबाट स्वागत गरेका थिए।
‘भारतीय रेल्वेको यस सेवामार्फत यी दुई पवित्र तीर्थस्थललाई जोडेकामा म भारतका प्रधानमन्त्री नरेन्द्र मोदीप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछु। यो महत्त्वपूर्ण अवसरको साक्षी बन्न यहाँ उपस्थित नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई म अयोध्यावासी र सम्पूर्ण उत्तर प्रदेशवासीको तर्फबाट हार्दिक स्वागत गर्दछु।‘
आदित्यनाथले सरयू–कमला एक्सप्रेसलाई दुई देशका धार्मिक आस्थासँग जोडिएका प्रमुख गन्तव्यबीचको सम्बन्ध विस्तार गर्ने माध्यमका रूपमा प्रस्तुत गरे।
‘अयोध्या धाम र जनकपुरधामबीच सञ्चालन हुने सरयू–कमला एक्सप्रेसमार्फत आज अयोध्या र मिथिलाको संस्कृतिबीचको पवित्र एवं प्राचीन मिलन पुनर्जीवित भइरहेको छ।‘
रेल सेवा सञ्चालनमा आएपछि नेपालबाट अयोध्या जाने र भारतबाट जनकपुरधाम आउने धार्मिक पर्यटक तथा श्रद्धालुहरूको यात्रा सहज हुने उनको भनाइ छ।
‘यस रेल सेवाको सुरुवातसँगै नेपालका श्रद्धालुहरू रामललाको आशीर्वाद लिन सिधै यात्रा गर्न सक्नेछन् भने भारतका श्रद्धालुहरू माता जानकीको पूजाअर्चनाका लागि जनकपुरधाम जान सक्नेछन्,’ आदित्यनाथले भने।
उनले अयोध्या र जनकपुरधामबीचको रेल सम्पर्कलाई धार्मिक यात्राको सुविधासँगै दुवै क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धसँग जोडेर व्याख्या गरेका हुन्।






