काठमाडौँ । नेपाल र भारतबीच प्रहरी अनुसन्धान तथा प्रशिक्षण, निजामती कर्मचारीको क्षमता विकास, स्याटेलाइट सञ्चार र स्वास्थ्यसहित आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको दोस्रो दिन सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको भेटवार्ताका क्रममा विभिन्न आठ विषयमा समझदारी गरिएको हो।
दुई देशबीच भएका समझदारीमा विशेष गरी प्रहरीको अनुसन्धान क्षमता अभिवृद्धि, सरकारी अधिकारीहरूको प्रशिक्षण, प्रविधिको उपयोग तथा विभिन्न सेवा क्षेत्रको विकासमा संस्थागत सहकार्य गर्ने विषय समेटिएका छन्।
प्रहरी सेवासँग सम्बन्धित दुई छुट्टाछुट्टै समझदारी भएका छन्। फरेन्सिक विज्ञानमा अध्ययन तथा अनुसन्धानका लागि भारतको गुजरातस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच सहकार्य हुनेछ। प्रहरी प्रशिक्षणका लागि भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच पनि समझदारी भएको छ।
सार्वजनिक प्रशासनतर्फ भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजबीच नेपाली सरकारी अधिकारीहरूको प्रशिक्षणमा सहकार्य गर्ने सहमति भएको छ।
प्रविधितर्फ भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइट उपयोगका लागि आवश्यक सञ्चार सञ्जाल निर्माणमा सहकार्य गर्ने समझदारी गरिएको छ।
यसैगरी, आयुर्वेद तथा परम्परागत उपचार पद्धति, स्वास्थ्य सेवा र चिकित्सा, दिगो सहरी विकास तथा पशुपालन र मत्स्यपालनका क्षेत्रमा पनि द्विपक्षीय सहकार्य अघि बढाउने सहमति भएको छ।
यी हुन् नेपाल-भारतबीच भएका आठ समझदारी
१. फरेन्सिक विज्ञानमा अनुसन्धान तथा अध्ययन : भारतको गुजरात राज्यको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच फरेन्सिक विज्ञानसम्बन्धी अध्ययन तथा अनुसन्धानमा सहकार्य गर्ने समझदारी भएको छ।
२. प्रहरी जनशक्ति प्रशिक्षण : भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच प्रहरी प्रशिक्षणका क्षेत्रमा संस्थागत सहकार्य गर्ने सहमति भएको छ।
३. सरकारी अधिकारीहरूको क्षमता विकास : भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजबीच नेपाली सरकारी अधिकारीहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने समझदारी गरिएको छ।
४. आयुर्वेद तथा परम्परागत चिकित्सा : आयुर्वेदसहित विभिन्न परम्परागत उपचार प्रणालीका क्षेत्रमा नेपाल र भारतले संयुक्त रूपमा काम गर्ने सहमति गरेका छन्।
५. स्याटेलाइट सञ्चार प्रणाली : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि सञ्चार नेटवर्क निर्माण गर्ने समझदारी भएको छ।
६. दिगो सहरी विकास : सहरी विकासका कार्यक्रमलाई दिगो बनाउने उद्देश्यले दुवै देशबीच प्राविधिक सहयोग आदानप्रदान गर्ने सहमति भएको छ।
७. स्वास्थ्य सेवा तथा चिकित्सा : स्वास्थ्य सेवा र चिकित्सा क्षेत्रका गतिविधिमा नेपाल र भारतले आपसी सहकार्य गर्ने समझदारी गरेका छन्।
८. पशुपालन तथा मत्स्यपालन : पशुपालन र मत्स्यपालन क्षेत्रको विकासका लागि दुई देशबीच सहकार्य गर्ने सहमति भएको छ।
यी समझदारीहरूले सुरक्षा तथा प्रशासनिक प्रशिक्षणदेखि स्वास्थ्य, सञ्चार प्रविधि, सहरी व्यवस्थापन र पशुपालनसम्मका क्षेत्रलाई समेटेका छन्।






