काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल मंगलबारदेखि चार दिनका लागि बिदामा बसेका छन्।
सर्वोच्च अदालतका प्रवक्ता अशोक क्षेत्रीका अनुसार फुयालले कात्तिक १७ देखि २० गतेसम्म व्यक्तिगत बिदा लिएका हुन्। उनको बिदा प्रधानन्यायाधीश मनोजकुमार शर्माबाट स्वीकृत भएको छ। त्यसपछि तिहारको बिदा सुरु हुनेछ।
पछिल्लो समय सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा रहेका इनम सापकोटासँग न्यायाधीश फुयालको संवाद र भेटघाटको विषय सार्वजनिक भएको थियो। उनीहरूबीच भएको कुराकानीका स्क्रिनसट बाहिरिएपछि यस विषयमा विभिन्न प्रश्न उठेका छन्।
फुयालले सापकोटासँग टेलिफोन संवाद भएको र ललितपुरस्थित होटल हिमालयमा भेटघाट भएको स्वीकार गरेका छन्। उक्त भेटमा अन्य न्यायाधीशसमेत सहभागी रहेको उनको भनाइ छ। उनले भेटघाटका क्रममा मुद्दा मामिलासम्बन्धी कुनै अनुचित काम नभएको स्पष्ट पार्दै आएका छन्।
सापकोटाको गतिविधि शंकास्पद देखिएपछि आफूहरूले नै सरकारलाई जानकारी गराएको फुयालको दाबी छ। सापकोटासँगको सम्पर्कका विषयमा सर्वोच्च अदालतकी न्यायाधीश शारङ्गा सुवेदीको नामसमेत सार्वजनिक चर्चामा आएको छ।
यस विषयमा सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले सम्बन्धित निकायलाई छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेको थियो।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पनि सम्बन्धित न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने धारणा व्यक्त भएको विवरण सार्वजनिक भएको छ।
न्यायाधीश फुयालको बिदा र पछिल्लो घटनाक्रम एकै समयमा परे पनि ती दुई विषयबीच सम्बन्ध रहेको आधिकारिक रूपमा पुष्टि भएको छैन। सर्वोच्च अदालतले उनको बिदालाई व्यक्तिगत बिदाका रूपमा जनाएको छ।




