काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालविरुद्ध सार्वजनिक जग्गा अनियमिततासम्बन्धी अर्को भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरिएको छ।
विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्ता गर्ने प्रक्रियामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको विशेष अदालतले जानकारी दिएको छ।
तत्कालीन मन्त्रिपरिषदबाट निर्णय गराई सार्वजनिक जग्गा छुट दर्ता गरेको विषयमा अख्तियारले अनियमितता भएको दाबी गरेको जनाइएको छ।
यद्यपि, नयाँ मुद्दामा नेपालबाहेक अन्य को-को प्रतिवादी छन्, कति क्षेत्रफलको जग्गा विवादमा परेको हो र अख्तियारले कति बिगो तथा सजाय माग दाबी गरेको छ भन्ने विवरण खुलिसकेको छैन।
नेपालविरुद्ध यसअघि पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा अनियमितता प्रकरणमा पनि भ्रष्टाचार मुद्दा दायर भएको थियो।
पतञ्जलि प्रकरणमा तत्कालीन मन्त्रिपरिषद्को निर्णयबाट हदबन्दी छुटमा खरिद गरिएको जग्गाको बिक्री तथा सट्टापट्टालाई स्वीकृति दिँदा अनियमितता भएको अख्तियारको आरोप छ।
उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ।




