काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तिहार र छठ पर्वका समयमा विद्युत् आपूर्ति नियमित र अवरोधरहित बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्। चाडपर्वमा विद्युत्को सम्भावित माग र आपूर्तिको अवस्था विश्लेषण गरी आवश्यक पूर्वतयारी गर्न उनले निर्देशन दिएका हुन्।
बुधबार प्राधिकरण सञ्चालक समितिको बैठकअघि कार्यकारी निर्देशक तथा उच्च अधिकारीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले चाडपर्वका बेला विद्युत् आपूर्तिमा अनावश्यक अवरोध हुन नदिन आवश्यक व्यवस्थापन मिलाउन निर्देशन दिएका हुन्।
चाडपर्वमा विद्युत् खपत बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै उनले मागअनुसार पर्याप्त विद्युत् उपलब्ध गराउने र वितरण प्रणालीलाई भरपर्दो बनाउने विषयलाई प्राथमिकता दिन आग्रह गरे।
मन्त्री श्रेष्ठले चाडपर्वलगत्तै सुरु हुने सुक्खायामको विद्युत् व्यवस्थापनका लागि समेत अहिलेदेखि नै योजनाबद्ध तयारी गर्न निर्देशन दिएका छन्। सुक्खायाममा आन्तरिक विद्युत् उत्पादनको अवस्था र आवश्यकताअनुसार विद्युत् आयातको सम्भावनासमेत अध्ययन गर्न उनले प्राधिकरणलाई निर्देशन दिए।
उनले सुक्खायाममा हुन सक्ने विद्युत्को माग, उपलब्ध आन्तरिक उत्पादन र सम्भावित आपूर्तिबीचको सन्तुलन यथार्थपरक रूपमा मूल्यांकन गर्नुपर्ने बताए।
विद्युत् आपूर्तिमा सम्भावित समस्या पहिचान गरी समाधानका लागि तत्काल चाल्नुपर्ने कदमसमेत समेटेर विस्तृत कार्ययोजना तयार गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएका छन्।
उनले चाडपर्वको विद्युत् व्यवस्थापन र आगामी सुक्खायामको आपूर्ति सुनिश्चित गर्ने विषयमा आवश्यक तयारी तथा कार्ययोजनासहित आगामी बैठकमा विस्तृत प्रस्तुतीकरण पेस गर्न प्राधिकरणका अधिकारीहरूलाई निर्देशन दिएका छन्।





