काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमता मूल्यांकनद्वारा हुने बढुवाका लागि आवेदन आह्वान गरेको छ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै विभिन्न तह, सेवा, समूह तथा उपसमूहका पदमा बढुवाका लागि योग्य कर्मचारीबाट आवेदन माग गरेको हो।
प्रकाशित सूचनाअनुसार प्रशासन तथा प्राविधिक सेवातर्फ १२औँ तहदेखि तेस्रो तहसम्मका विभिन्न पदमा बढुवाको प्रक्रिया अघि बढाइएको छ।
बढुवाका लागि उपकार्यकारी निर्देशक, निर्देशक, सह निर्देशक, प्रबन्धक, उप-निर्देशक, सहायक निर्देशक, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट, सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, कम्प्युटर अधिकृत, लेखा अधिकृत, इन्जिनियर, सहायक प्रशासकीय अधिकृत, सहायक लेखा अधिकृत, सहायक इन्जिनियर, मिटर रिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, फोरमेन, मिटर रिडर, हेल्परलगायतका पद समावेश छन्।
त्यसैगरी कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढुवातर्फ पनि विभिन्न तहका प्रशासन तथा प्राविधिक सेवाका पदहरू समेटिएका छन्।
बढुवाका लागि योग्यता पुगेका प्राधिकरणका कर्मचारीले सूचना प्रकाशित भएको मितिले ३०औँ दिन अर्थात् मंसिर १९ गते राति १२ बजेसम्म आवेदन दिन सक्नेछन्।









