काठमाडौँ । अमेरिकामा भएको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले ठूलो सफलता हासिल गर्ने प्रक्षेपण गरिएको छ । प्रमुख प्रतिस्पर्धात्मक राज्यहरूमा जित हासिल गर्दै डेमोक्रेटहरूले संसद्का दुवै सदन सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभ्समा नियन्त्रण कायम गर्ने देखिएको छ ।
निर्वाचन परिणामको प्रक्षेपण गर्ने संस्था डिसिजन डेस्क एचक्यूले सार्वजनिक गरेको विवरणअनुसार डेमोक्र्याटहरूले सिनेटमा समेत बहुमत हासिल गर्ने सम्भावना देखिएको हो । यसअघि दुवै सदनमा रिपब्लिकन पार्टीको नियन्त्रण थियो ।
मध्यावधि निर्वाचनअघि प्रतिनिधिसभामा रिपब्लिकनका २१८ र डेमोक्र्याटका २१४ सिट थिए । एक स्वतन्त्र सांसद र दुई रिक्त सिट रहेका थिए । बहुमतका लागि २१८ सिट आवश्यक पर्ने प्रतिनिधिसभामा नियन्त्रण कायम गर्न डेमोक्र्याटलाई तीन सिट मात्र थप जित्नुपर्ने अवस्था थियो । एनबीसीको पछिल्लो प्रक्षेपणअनुसार डेमोक्र्याटहरूले प्रतिनिधिसभामा २५० भन्दा बढी सिट जित्न सक्ने देखिएको छ । यसलाई अमेरिकी राजनीतिमा ठूलो परिवर्तनका रूपमा हेरिएको छ। विभिन्न सञ्चारमाध्यमले यस परिणामलाई ‘ब्लु वेभ’ अर्थात् डेमोक्र्याटको चुनावी लहरका रूपमा व्याख्या गरेका छन् ।
त्यस्तै, निर्वाचनअघि सिनेटमा रिपब्लिकनका ५३ र डेमोक्र्याटका ४७ सिट थिए । बहुमतका लागि आवश्यक ५१ सिट पुर्याउन डेमोक्र्याटलाई थप चार सिट जित्नुपर्ने थियो । मतगणना जारी रहँदा अमेरिकी सञ्चारमाध्यमहरूले नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना, टेक्सास, कन्सास, ओहायो र मेनलगायत राज्यमा डेमोक्र्याटका उम्मेदवार विजयी भएको प्रक्षेपण गरेका छन् । विशेषगरी परम्परागत रूपमा रिपब्लिकनको बलियो पकड रहेका साउथ क्यारोलाइना, टेक्सास र कन्सासमा डेमोक्र्याटको सफलतालाई अर्थपूर्ण रूपमा हेरिएको छ। यी तीनै राज्यमा पछिल्ला तीनवटै राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पले जित हासिल गरेका थिए । टेक्सासमा डेमोक्र्याटिक पार्टीका सिनेट उम्मेदवार तथा राज्य प्रतिनिधिसभा सदस्य जेम्स टालारिकोले रिपब्लिकन उम्मेदवार एवं टेक्सासका महान्यायाधिवक्ता केन प्याक्सटनलाई पराजित गर्ने प्रक्षेपण गरिएको छ ।
उनी विजयी भए सन् १९८८ पछि टेक्सासबाट अमेरिकी सिनेटमा निर्वाचित हुने पहिलो डेमोक्र्याट बन्नेछन् । त्यस्तै, टेक्सासको गभर्नर निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जिना हिनोजोसाले जित हासिल गर्ने प्रक्षेपण गरिएको छ । उनी तीन दशकभन्दा बढी समयपछि टेक्सासको पहिलो डेमोक्र्याटिक गभर्नर बन्ने सम्भावना छ । कन्सासमा पनि डेमोक्र्याटिक उम्मेदवार एडम ह्यामिल्टनले रिपब्लिकनका बहालवाला सिनेटर रोजर मार्शललाई पराजित गर्ने प्रक्षेपण गरिएको छ ।
उनी विजयी भए सन् १९३२ पछि उक्त राज्यबाट सिनेटमा निर्वाचित हुने पहिलो डेमोक्र्याट बन्नेछन् । डेमोक्र्याटको चुनावी सफलतापछि प्रतिनिधिसभामा अल्पमत पक्षका नेता हाकिम जेफ्रिजले यसलाई अमेरिकाको विजयको संज्ञा दिएका छन् । डेमोक्र्याटले प्रतिनिधिसभामा नियन्त्रण कायम गरे जेफ्रिज अमेरिकी प्रतिनिधिसभाको पहिलो अश्वेत सभामुख बन्नेछन् । अमेरिकी सञ्चारमाध्यम पोलिटिकोले रिपब्लिकन पार्टीले चुनावमा ठूलो पराजय बेहोर्ने संकेत देखिएको उल्लेख गरेको छ । रिपब्लिकन पार्टीका एक रणनीतिकारले यसलाई आफ्नो जीवनकालकै सम्भवतः इतिहासकै सबैभन्दा खराब चुनावी पराजय भनेका छन् ।
निर्वाचन परिणाममा मतदाताको असन्तुष्टिले पनि महत्त्वपूर्ण भूमिका खेलेको विश्लेषण गरिएको छ । सीएनएनले सार्वजनिक गरेको प्रारम्भिक एक्जिट पोलअनुसार देशको वर्तमान अवस्था, अर्थतन्त्र र राष्ट्रपति ट्रम्पको कार्यसम्पादनप्रति ठूलो संख्यामा मतदाता असन्तुष्ट देखिएका छन् । करिव तीन चौथाइ मतदाताले देशको दिशाप्रति असन्तुष्टि जनाएका छन् । एसोसिएटेड प्रेसकाअनुसार मतदाताले ट्रम्पप्रति असन्तुष्टि व्यक्त गर्दै रिपब्लिकन पार्टीलाई त्यसको चुनावी मूल्य चुकाएका छन् । ट्रम्पको घट्दो लोकप्रियता, इरानसँगको अलोकप्रिय युद्ध र बढ्दो जीवनयापन खर्चले रिपब्लिकनको चुनावी सम्भावनामा नकारात्मक प्रभाव पारेको विश्लेषण गरिएको छ । द वाल स्ट्रिट जर्नलकाअनुसार ट्रम्पनिकट केही व्यक्ति तथा ह्वाइट हाउसका अधिकारीहरूले पनि चुनावी पराजयको दोष इरान युद्धलाई दिएका छन् । युद्ध केही महिनाअघि नै अन्त्य भएको भए निर्वाचन परिणाम फरक हुन सक्ने उनीहरूको भनाइ छ ।
राष्ट्रपति ट्रम्पले पनि रिपब्लिकनको पराजयमा इरान युद्धको आंशिक भूमिका रहेको स्वीकार गरेका छन् । द वाल स्ट्रिट जर्नलसँगको टेलिफोन अन्तर्वार्तामा उनले इरान युद्ध चुनावी परिणामलाई प्रभावित पार्ने एउटा कारण भएको बताएका थिए । यद्यपि युद्ध शुरु गरेकोमा आफूलाई कुनै पछुतो नरहेको उनको भनाइ थियो । निर्वाचन परिणामलाई आफ्नो राष्ट्रपतीय कार्यकालप्रतिको अस्वीकृतिका रूपमा भने ट्रम्पले स्वीकार गरेका छैनन् । आफू निर्वाचनमा उम्मेदवार नरहेको उल्लेख गर्दै उनले त्यसैलाई पराजयको प्रमुख कारणका रूपमा व्याख्या गरेका छन् ।
यता इरानका संसद सभामुख मोहम्मद बाघेर गालिबाफले अमेरिकी मध्यावधि निर्वाचनको परिणामलाई युद्धविरुद्ध अमेरिकी जनताको सन्देशका रूपमा व्याख्या गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले अमेरिकी नागरिकले युद्धलाई अस्वीकार गरेको भन्दै त्यस सन्देशलाई समर्थन गर्ने बताएका छन् । अमेरिकी संसद्का दुवै सदनको राजनीतिक महत्व फरक–फरक छ । प्रतिनिधिसभाले विधायिकी कार्यसूची निर्धारण, संघीय बजेट खर्चको निगरानी तथा सरकारी निकायमाथि अनुसन्धान र नियन्त्रणको भूमिका निर्वाह गर्छ । सिनेटले भने संघीय न्यायाधीश, मन्त्रिपरिषद्का सदस्यलगायत महत्त्वपूर्ण पदमा राष्ट्रपतिले गर्ने नियुक्तिको अनुमोदन गर्छ ।
संसद्का दुवै सदनमा डेमोक्र्याटको नियन्त्रण कायम भए राष्ट्रपति ट्रम्प प्रशासनलाई आगामी दुई वर्ष आफ्नो राजनीतिक तथा विधायिकी एजेन्डा अघि बढाउन कठिनाइ हुने देखिएको छ ।





