काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशका खराब सूचक सुधारमा ध्यान दिन सुझाव दिएका छन् । संघीय सरकारका महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी र मुख्यमन्त्री शाहीबीच आज मुख्यमन्त्री कार्यालयमा भएको भेटवार्ताका क्रममा उनले प्रदेशका समग्र खराब सूचकहरूमा सुधार ल्याउन संघीय सरकारले थप कार्यक्रम, बजेट र प्रभावकारी सहकार्य गर्नुपर्ने धारणा राखे ।
उनले भने, “कर्णालीमा विद्यमान बालमृत्युदर, कुपोषण, पुड्कोपना र बालविवाहजस्ता गम्भीर खराब सूचांकहरूलाई सुधार गर्न संघीय सरकारले नियमितभन्दा पनि विशेष प्रकृतिका कार्यक्रमहरू कार्यान्वयनमा ल्याउनुपर्छ ।” संघीय सरकारका मन्त्री स्वयं कर्णाली प्रदेशकै प्रतिनिधित्व गर्ने र यहाँको वास्तविकताबारे अवगत भएकाले यस विषयमा विशेष चासो मुख्यमन्त्री शाहीले आग्रह गरे ।
त्यसैगरी, हालैका वर्षहरूमा ठूलो चुनौतीका रूपमा देखा परेको किशोर-किशोरीहरूको मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै मुख्यमन्त्री शाहीले यस क्षेत्रमा ठोस पहल गर्न मन्त्री बादीको ध्यानाकर्षण गराए । भेटघाटमा मन्त्री बादीले कर्णालीको समग्र सुधारका लागि प्रदेश सरकारसँग सहकार्य गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको बताए । उनले हाल कर्णालीमा बालसुधार गृह स्थापनाका लागि आवश्यक पहल भइरहेकोसमेत जानकारी गराइन् ।
सोही भेटघाटमा प्रदेशका सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले यहाँको स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुधारका लागि काम भइरहेको जनाउँदै संघीय सरकारको निरन्तर सहकार्य र प्रतिबद्धता जरुरी रहेको बताए । उनले आगामी दिनमा यस्ता बैठक तथा भेटघाटहरूलाई नियमित र परिणाममुखी बनाउनुपर्ने धारणा राखे।





