काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज लक्ष्मीपूजा हर्षोल्लासका साथ मनाइँदै छ । लक्ष्मीपूजाको अवसरमा घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मी भित्र्याइएको हो ।
काठमाडौँ उपत्यका पनि रंगीचंगी बत्तीले झिलिमिली बनेको छ । लक्ष्मीपूजाका दिन विद्युत खपत बढ्ने भएकाले विद्युत आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ स्वयं नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित कार्यालय पुगेका छन् ।
मन्त्री श्रेष्ठले प्राधिकरणबाट भइरहेको विद्युत आपूर्ति तथा व्यवस्थापनको अवस्थाबारे जानकारी लिनुका साथै अनुगमन गरेका छन् ।
उनले लक्ष्मीपूजाका दिन विद्युत आपूर्ति निरन्तर राख्न र कुनैपनि कारणले विद्युत सेवा अवरुद्ध हुन नदिन सम्बन्धित अधिकारीलाई निर्देशनसमेत दिएका छन् ।





