काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-३१) मा सहभागी हुन टर्किएको अन्ताल्या पुगेकी छन्। मन्त्री चौधरीको सचिवालयका अनुसार उनी बुधबार अन्ताल्या पुगेकी हुन्।
टर्किएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म सञ्चालन भइरहेको कोप-३१ मा मन्त्री चौधरीले नेपालको प्रतिनिधित्व गर्ने कार्यक्रम छ। सम्मेलनको दोस्रो साता उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन्।
सम्मेलनमा नेपालले जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी, कृषि, वन तथा जैविक विविधतामा परिरहेको प्रभावलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।
मन्त्री चौधरीले सम्मेलनका उच्चस्तरीय कार्यक्रममा जलवायु न्याय, जलवायु वित्त, हानि तथा नोक्सानीको क्षतिपूर्ति, जलवायुमैत्री कृषि, वन संरक्षण र हिमाली पारिस्थितिक प्रणालीको संरक्षणसम्बन्धी नेपालको धारणा प्रस्तुत गर्ने कार्यक्रम छ।
यसअघि परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी भइसकेको छ। परराष्ट्र मन्त्री खनालले नोभेम्बर ९ मा सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए।





