काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको नि:शुल्क उपचार र मृतकका परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
छठ पर्व मनाउन घर फर्किँदै गरेका नागरिकले सडक दुर्घटनामा ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको लामिछानेले बताएका छन्।
दुर्घटनापछि शोक सन्देश जारी गर्दै उनले एउटै बस्ती र टोलका नागरिकले अकालमै ज्यान गुमाउनुपर्दा समुदायमा अकल्पनीय पीडा थपिएको उल्लेख गरेका छन्।
‘एउटै बस्ती र टोलमा पर्न गएको यो अकल्पनीय बज्रपातको पीडा शब्दमा व्यक्त गर्न असम्भव छ,’ लामिछानेले शोक सन्देशमा भनेका छन्।
उनले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन्।
लामिछानेले घटनाप्रति दुःख व्यक्त गर्नुका साथै दुर्घटनाबाट प्रभावित परिवारलाई राज्यका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।
‘घाइतेहरूको सम्पूर्ण नि:शुल्क उपचारको व्यवस्था मिलाउन, मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन म सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु,’ उनले भनेका छन्।
बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढीमा काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको यात्रुवाहक विद्युतीय माइक्रोबस दुर्घटनामा परेको थियो।
प्रारम्भिक विवरणअनुसार दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने अन्य यात्रु घाइते भएका छन्।
दुर्घटनाले छठ पर्व मनाउन घर फर्किरहेका परिवारमा शोक थपिएको अवस्थामा लामिछानेले घाइतेको उपचार तथा पीडित परिवारको राहत व्यवस्थापनमा सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।





