काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने ६३५.९६ ग्राम पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको ग्वाङडोङका ४२ वर्षीय झान गुओछिङ छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार गुओछिङ २९ कात्तिकमा क्याथे प्यासिफिकको उडानबाट हङकङ हुँदै काठमाडौँ आएका थिए । गतिविधि शंकास्पद देखिएपछि प्रहरीले जाँच गर्दा उनले लगाएको भित्री वस्त्रमा प्लास्टिकले बेरेर लुकाइएका पहेँलो रङका दुई गोलाकार अर्धठोस टुक्रा फेला परेका थिए ।
विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डुण्डीराज नेउपानेले जारी गरेको विज्ञप्तिअनुसार उक्त पदार्थ भन्सार छलेर लैजान खोजेको आशंकामा प्रहरीले गुओछिङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।






