धरान । सुनसरीको धरान उपमहानगरपालिका-१४ हात्तीसार पथस्थित एक घरबाट प्रहरीले ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू उक्त घरमा डेरा गरी बस्दै आएको नेपाल प्रहरीले जनाएको छ।
मंसिर ४ गते दिउँसो करिब ३ बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले घरमा खानतलासी गरेको थियो। प्रहरी वरिष्ठ नायब निरीक्षक सन्दीप कार्कीको नेतृत्वमा खटिएको टोलीले उनीहरूको साथबाट १२४ ग्राम ४७ मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपामका ४४५ ट्याब्लेट, स्पासपेनका ६५ ट्याब्लेट र ट्रामोलका १५ क्याप्सुल बरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा धरान-१५ गोविन्दमार्गका २५ वर्षीय सौरभ जिमी, धरान-२० का २२ वर्षीय सुगम राई, धरान-१४ का २१ वर्षीय अविजित निरौला, धरान-१३ का २५ वर्षीय आशिष राई र मोरङको लेटाङ नगरपालिका-१ का २६ वर्षीय हरि लिम्बू छन्।
पक्राउ परेका पाँचै जना र बरामद सामग्रीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





