काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका लागि छुट्टाछुट्टै क्रिकेट रंगशाला निर्माण गर्ने सरकारी योजनाबारे शिक्षा तथा खेलकुद मन्त्रालयले छलफल अघि बढाउने भएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रंगशाला निर्माणका विषयमा छलफल गर्न आठवटै फ्रेन्चाइज टोलीका मालिकलाई मंगलबार दिउँसो ३ बजे मन्त्रालयमा बोलाएका हुन्।
प्रधानमन्त्री वालेन्द्र शाहले एनपीएलका आठ टोलीका लागि फ्लडलाइटसहितका घरेलु क्रिकेट मैदान निर्माण गर्ने घोषणा गरेको केही दिनपछि मन्त्रालयले सम्बन्धित फ्रेन्चाइजसँग छलफल गर्न लागेको हो।
प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जालमार्फत एनपीएलको छैटौँ संस्करणदेखि प्रतियोगितालाई होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने योजना सार्वजनिक गरेका थिए। त्यसका लागि प्रत्येक टोलीको आफ्नै घरेलु मैदान रहने गरी रंगशाला निर्माण गर्ने उनको घोषणा थियो।
सरकारको योजनाअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर, लुम्बिनी लायन्सका लागि सिद्धार्थनगर, कर्णाली याक्सका लागि सुर्खेत र सुदूरपश्चिम रोयल्सका लागि धनगढीको फाप्लामा रंगशाला निर्माण गरिनेछ।
त्यस्तै, काठमाडौँ गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला विकास गर्ने योजना छ।
प्रधानमन्त्री शाहका अनुसार धनगढीको फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ। अन्य रंगशालाको निर्माण प्रक्रिया आगामी तीन महिनाभित्र सुरु गर्ने सरकारी तयारी छ।
यी रंगशाला निर्माणको जिम्मेवारी नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयमार्फत अघि बढाइने प्रधानमन्त्रीले बताएका छन्।
रंगशाला तयार भएपछि एनपीएलका खेलहरू सम्बन्धित टोलीका घरेलु मैदान र विपक्षी टोलीका मैदानमा सञ्चालन गर्ने योजना छ। यसमार्फत हाल काठमाडौँमा केन्द्रित क्रिकेट प्रतियोगितालाई देशका विभिन्न सहरमा विस्तार गर्ने सरकारको लक्ष्य रहेको छ।
प्रधानमन्त्रीको घोषणापछि खेलकुद मन्त्रालयले फ्रेन्चाइजका मालिकसँग गर्न लागेको छलफललाई रंगशाला निर्माणसम्बन्धी योजनामा अघि बढाइएको अर्को चरणका रूपमा लिइएको छ।






