काठमाडौं। काठमाडौँको तारकेश्वर नगरपालिका-५ लोलाङस्थित धितालथोकबाट ९७.६७० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकालीबाट खटिएको प्रहरी टोलीले लागू औषध बेचबिखन भइरहेको भन्ने विशेष सूचनाका आधारमा सोमबार दिउँसो करिब ३:१५ बजे उक्त क्षेत्रमा पुगेर चेकजाँच गरेको थियो।
सो क्रममा नुवाकोटको सूर्यगढी गाउँपालिका-२ घर भई हाल काठमाडौँको धितालथोकमा बस्दै आएका अन्दाजी २२ वर्षीय धिरज तामाङको साथबाट प्लास्टिकसहित ९७.६७० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
उक्त पदार्थसहित तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।






