म्याग्दी । सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार, घार र खिवाङ क्षेत्रमा आज बिहान ३:०० बजेदेखि तीव्र गतिको चिसो हावाहुरी चलिरहेको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार हावाहुरीका कारण काभ्रेमा तीन र नारच्याङमा एक वटा घरको छानो उडाएको छ । रुख ढलेर भुरुङ्ग–तातोपानीदेखि मान्द्रेढुङ्गा जोड्ने सडक अवरुद्ध बनेको छ ।
“गाउँपालिकाका विभिन्न बस्तीमा विद्युत् सेवा अवरुद्ध भएको छ,” उनले भने, “हावाहुरी निरन्तर चलिरहेको छ । थप विवरण संकलन भइरहेको छ”, अन्नपूर्ण गाउँपालिका–३ दानाका वडा सदस्य दुर्गादत्त सुवेदीले तीव्र गतिको चिसो हावा चलिरहेको बताए।
“हुरीको बेगले मानिसलाई समेत उडाउलाजस्तो महसुस भएको छ,” उनले भने, “कालीगण्डकी करिडोरको कच्ची सडक र नदी किनारको बगरमा धुलो उड्दा अन्नपूर्ण र धौलागिरि हिमाल बादलले ढाकिएजस्तो देखिएको छ ।”
मुस्ताङ र आसपासका हिमाली क्षेत्रमा तापक्रम घटेपछि उत्पन्न हुने चिसो हावा कालीगण्डकी नदीले निर्माण गरेको अन्नपूर्ण र धौलागिरि हिमालबीचको गहिरो गल्छी हुँदै दक्षिणतर्फ बहने गर्छ । साँघुरो गल्छीबाट हावा तीव्र गतिमा तल झर्दा दाना, नारच्याङ र आसपासका क्षेत्रमा हुरीको प्रभाव देखिने गरेको छ ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रमको असन्तुलन बढ्दै जाँदा उत्तरी हावाहुरी चल्ने समय परिवर्तन हुन थालेको स्थानीयको अनुभव छ । विगतमा हिउँद सकिन लाग्दा बढी चल्ने यस्तो हावा पछिल्ला वर्षहरूमा बेमौसममै चल्न थालेको छ ।
तीव्र हावाहुरीले कालीगण्डकी करिडोर आसपासका सुक्खा बगर र सडकको धुलो उडाउँदा बस्तीमा धुलोको समस्या बढ्नुका साथै कृषि बाली, सुन्तला खेती र विद्युत् प्रसारण लाइनमा असर पुग्ने गरेको छ ।






