काठमाडौँ । नेपाली सेनाको रथी पदमा बढुवा भएका अनुपजंग थापासहित विभिन्न पदमा पदोन्नति भएका ६ सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
सैनिक मुख्यालय जंगी अड्डामा आयोजित समारोहमा प्रधानसेनापति अशोकराज सिग्देलले बढुवा भएका अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
मङ्सिर ४ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई उपरथीबाट रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
रथीमा बढुवासँगै थापा नेपाली सेनाको भावी नेतृत्वका प्रमुख दाबेदार बनेका छन् । वर्तमान प्रधानसेनापति सिग्देल २०८४ भदौ २४ गते अवकाशमा जानेछन् ।
समारोहमा उपरथीमा बढुवा भएका मनोज थापालाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
त्यसैगरी प्राविधिक सहायक रथीमा पदोन्नति भएका जगत शाह, पंकज रावल र शीतल बानियाँ तथा महासेनानीमा बढुवा भएका अरविन्द श्रेष्ठले पनि प्रधानसेनापति सिग्देलबाट दर्ज्यानी चिह्न ग्रहण गरेका छन् ।






