काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद्ले सरकारी सेवाबाट निवृत्त भएका व्यक्तिहरू कानून व्यवसायमा आउन दुई वर्षको विश्राम अवधि (कुलिङ पिरियड) कायम गरेको छ ।
परिषद्को मंसिर १ गते बसेको बैठकले कानून व्यवसायीको प्रमाणपत्र लिएका सरकारी सेवाका व्यक्तिहरूले सेवा अवधि समाप्त भएको दुई वर्षपछि मात्र प्रमाणपत्र अद्यावधिकका लागि निवेदन दिन पाउने निर्णय गरेको हो ।
यो व्यवस्था संघ, प्रदेश र स्थानीय तहको सेवामा स्थायी नियुक्ति पाएका निजामती कर्मचारी, न्यायाधीश तथा न्याय सम्पादनको कार्यमा संलग्न व्यक्तिहरूमा लागू हुनेछ ।
त्यसैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनामा कार्यरत व्यक्तिहरूका साथै तीनै तहका सरकारबाट पारिश्रमिक लिने विद्यालयका स्थायी शिक्षक तथा अन्य कर्मचारीसमेत यो व्यवस्थाको दायरामा पर्नेछन् ।
सरकारी सेवाबाट निवृत्त हुनेबित्तिकै प्रमाणपत्र अद्यावधिक गरी कानून व्यवसायमा आउँदा स्वार्थको द्वन्द्व हुने र निष्पक्षतामा समेत प्रश्न उठ्ने गरेको सन्दर्भमा परिषद्ले यस्तो निर्णय गरेको हो ।
परिषद्ले मंसिर ८ गते सूचना जारी गर्दै उक्त निर्णयबमोजिम आन्तरिक कार्य व्यवस्था सञ्चालन नियमावली, २०५५ को नियम १३ संशोधन गरिएको जनाएको छ ।







