काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय समितिमा एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्न ११ जना महिला केन्द्रीय सदस्य मनोनीत गरेको छ ।
महाधिवेशनबाट निर्वाचित २३१ सदस्यीय केन्द्रीय समितिमा एक तिहाइ महिला प्रतिनिधित्वका लागि ११ जना अपुग भएपछि मनोनयन गरी निर्वाचन आयोगलाई जानकारी गराइएको हो ।
मनोनीत हुनेमा सुजाता कोइराला, ईश्वरी न्यौपाने, चन्दा चौधरी, लक्ष्मी पाण्डे, साहजान खातुन र निपा चोख्याल छन् । बाँकी पाँच जनाको नाम भने खुलेको छैन । मनोनीत गरिएका ११ जनाले महाधिवेशनमा प्रतिस्पर्धा गरेका थिएनन् ।
काँग्रेसको संशोधित विधानमा केन्द्रीय समिति २९७ सदस्यीय हुने व्यवस्था छ । त्यसमध्ये ६६ जना केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्ने प्रावधान छ ।
मनोनीत भएकी कोइराला यसअघि विशेष महाधिवेशनपछि पनि केन्द्रीय सदस्यमा मनोनीत भएकी थिइन् । १५औँ महाधिवेशन नजिकिँदै गर्दा संस्थापन पक्षमा आएकी न्यौपानेले सभापतिको आग्रहमा उम्मेदवारी नदिएको त्यतिबेला सामाजिक सञ्जालमार्फत जानकारी दिएकी थिइन् । चौधरी भने विशेष महाधिवेशनपछि संस्थापन पक्षमा आबद्ध भएकी थिइन् ।
मनोनीत अर्की सदस्य पाण्डे गाउँपालिका राष्ट्रिय महासंघकी केन्द्रीय अध्यक्ष तथा नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष हुन् ।
रौतहटकी खातुन प्रतिनिधि सभामा समानुपातिक सांसद हुन् भने कैलालीकी चोख्याल विशेष महाधिवेशनको पक्षमा सक्रिय थिइन् ।






