काठमाडौँ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले कृषि विकास बैंकको तालिम केन्द्र, बोडेमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका भूमिहीन नठहरिएका तथा जग्गा देखिएका व्यक्तिहरूलाई मङ्सिर ११ गते दिउँसो २ बजेभित्र सेन्टर खाली गर्न निर्देशन दिएको छ।
काठमाडौँ उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्तीबाट विस्थापित भई उक्त सेन्टरमा बस्दै आएका परिवारका घरमूली तथा परिवारका सदस्यहरूको नाममा रहेको जग्गाको विवरण भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय पालिकाबाट प्राप्त भएको कार्यालयले जनाएको छ।
भूमि समस्या समाधान समिति, काठमाडौँको मङ्सिर ९ गतेको पत्रअनुसार भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२क र ५२ख बमोजिम सात परिवार भूमिहीन नठहरिएको सूचनामा उल्लेख छ।
जग्गा नदेखिएका १२ परिवारका हकमा सम्बन्धित पालिकामा जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाई निस्सासमेत प्राप्त भएको कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले जग्गा नदेखिएका परिवारलाई नेपाल सरकारले घरभाडाबापत तोकेको सुविधासमेत बुझिलिन अनुरोध गरेको छ।







