काठमाडौँ । मोरङको कानेपोखरीमा बालिकामाथि बलात्कार तथा कुटपिट भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बालिकामाथि जबरजस्ती करणी भएको सूचना प्राप्त भएपछि प्रहरीले ५५ वर्षीय एक पुरुषलाई तत्काल पक्राउ गरेको थियो ।
उनीविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा मंसिर १ गते अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
सोही घटनालाई लिएर पीडित बालिकामाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले मंसिर ९ गते थप एक २३ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पथरीबाट उनीमाथि विद्युतीय अपराध तथा बालविवाहसम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा प्रसारित भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकविरुद्ध हुने अपराधमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको जनाएको छ ।






