काठमाडौँ। प्रसूति जटिलताका कारण जोखिममा परेकी जाजरकोटको नलगाड नगरपालिका-१२ निवासी २३ वर्षीया महिलालाई महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको हवाई उद्धार कार्यक्रममार्फत उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएको छ।
मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षा र सुरक्षित मातृत्व सुनिश्चित गर्ने उद्देश्यले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
दुर्गम क्षेत्रका महिलालाई प्रसूति जटिलताको अवस्थामा समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराई मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ।






