काठमाडौँ । सरकारी अनुदानको रासायनिक मल बिक्री वितरणमा अनियमितता भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय, झापाले बुद्धशान्ति गाउँपालिका-३, बुधबारे बजारस्थित सञ्जीवनी कृषि भण्डारमाथि कारवाही गरेको छ ।
अनुदानित मल अनधिकृत रूपमा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा झापा प्रशासनले बिहीबार आकस्मिक अनुगमन गरेको थियो । अनुगमनका क्रममा कृषि भण्डारले खरिद गरेको ४०० बोरा रासायनिक मलमध्ये १५९ बोराको बिक्री तथा मौज्दात विवरण पेस गर्न नसकेको पाइएको हो ।
कृषि भण्डारले मङ्सिर ८ गते साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, बिर्तामोडबाट १७० बोरा युरिया र ६० बोरा डीएपी तथा मङ्सिर ९ गते कृषि सामग्री कम्पनी लिमिटेड, बिर्तामोडबाट १७० बोरा डीएपी मल खरिद गरेको थियो ।
अनुगमनका क्रममा गोदाममा १२१ बोरा डीएपी र १२० बोरा युरिया गरी २४१ बोरा मल मात्र भेटिएको थियो । बाँकी १०९ बोरा डीएपी र ५० बोरा युरियाको बिक्री तथा मौज्दात विवरण कृषि भण्डारले उपलब्ध गराउन सकेन ।
अनुदानित मल बिक्री वितरणका लागि निर्धारित सर्त उल्लंघन गरेको पाइएपछि उपभोक्ता हित संरक्षण ऐनबमोजिम तत्काल दुई लाख रुपैयाँ जरिवाना गरी सम्बन्धित कृषि भण्डारलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको संयोजकत्वमा खटिएको टोलीले सोही वडाको ७ नम्बर चोकस्थित न्यू कञ्चन कृषि सहकारी संस्थामा समेत अनुगमन गरेको थियो । उक्त सहकारीको मल खरिद, बिक्री तथा मौज्दात विवरण भने दुरुस्त पाइएको प्रशासनले जनाएको छ ।
अनुगमन टोलीमा कृषि ज्ञान केन्द्र झापाका प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि, जनप्रतिनिधि तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि सहभागी थिए ।






