काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका सम्झौतामाथि प्रश्न उठाउँदै त्यसबारे सरकार र प्रधानमन्त्रीसँग जवाफ मागेका छन् ।
बिहीबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा रावलले नेपालका प्राथमिकताप्राप्त आयोजनामा भारतलाई प्राथमिकता दिने गरी सन् १९५० सँग सम्बन्धित प्रावधान पुनः ब्युँताइएको आरोप लगाए ।
तालिम तथा प्रशिक्षणका नाममा भारतका सुरक्षा निकायलाई नेपाल प्रहरीभित्र भूमिका दिने गरी सम्झौता गरिएको उनको दाबी छ ।
रावलले प्रधानमन्त्रीको भ्रमणमा राष्ट्रिय हित, सीमा विवाद तथा असमान सन्धिका विषयले स्थान नपाएको भन्दै सरकारको आलोचना गरे । सत्ता स्वार्थका लागि विदेशी शक्तिसामु झुक्ने विगतको प्रवृत्ति पुनः दोहोरिएको उनको टिप्पणी छ ।
नेपालको देशभक्ति कुनै मुलुकप्रतिको विरोधमा नभई आफ्नै राष्ट्रिय हितमा आधारित हुनुपर्ने उनले बताए ।
दुई पूर्वश्रममन्त्री पक्राउ परेको प्रसंग उल्लेख गर्दै रावलले सोही विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पनि जोडिँदा उनीहरूमाथि किन कानुन आकर्षित भएन भन्ने प्रश्न उठाए ।
कानुनको पालना, विधिसम्मत शासन सञ्चालन र नागरिकका मौलिक अधिकारको सम्मान गर्नु सुशासनका आधार भएको उल्लेख गर्दै उनले यसको सुनिश्चित गर्ने पहिलो दायित्व प्रधानमन्त्री, सरकार तथा गृह मन्त्रालयको रहेको बताए ।






