म्याग्दी । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण थालेको डेढ दशकपछि व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरेको छ ।
पहिलोपटक ३२ मेगावाट क्षमतामा निर्माण अघि बढाइएको आयोजना ठेकेदारको समस्या, ठेक्का रद्द, पुनर्संरचना, नयाँ ठेकेदार छनोट, कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभावलगायतका कारण डेढ दशकपछि सम्पन्न हुन लागेको हो ।
म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माण भएको यस आयोजनाको परीक्षण अवधि पूरा गरेर व्यावसायिक उत्पादन थालिएको रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए।
“म्याग्दीको रघुगंगा गाउँपालिका-३ तिल्केनीचौरस्थित विद्युतगृह परिसरमा असोज ११ गते कालीगण्डकीको बाढीले कटान गरेर क्षति पुर्याएपछि असोज ६ गतेदेखि सुरु भएको आयोजनाको परीक्षण अवधि लम्बिएको हो”, उनले भने, “प्राकृतिक विपत्ति, कोभिड-१९, भन्सार प्रक्रियाको समस्या, अन्तर्राष्ट्रिय युद्धको असर, कालीगण्डकी नदीमा नदीजन्य पदार्थ उत्खननमा लगाइएको रोकलगायत कारणले आयोजना निर्माणमा ढिलाइ भएको हो ।”
रघुगंगा गाउँपालिका-४ दग्नाम र वडा नं ५ झिँको फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुईवटा पानी थिग्य्राउने पोखरी रहेका छन् । कालीगण्डकी करिडोरको बेनी-जोमसोम-सडक छेउमा रघुगंगा गाउँपालिका-३ तिल्केनीचौरमा विद्युतगृह रहेको छ । आयोजनाको छ किलोमिटर २७० मिटर लामो सुरुङ निर्माण भएको छ ।
तिल्केनीचौरदेखि घुमाउनेताल, पिप्ले, मौवाफाँट, बुग्ल हुँदै बाँधस्थलसम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण र राहुघाटमा एकवटा बेलिब्रिज निर्माण भएको आयोजना प्रमुख राजबहादुर विष्टले बताए । विद्युतगृह परिसरमा स्वीचयार्ड र कालीगण्डकी करीडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना-कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोड्न चार वटा टावर र प्रसारण लाइन निर्माण भएको छ ।
यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) गरेको थियो । भारतको वाकफोस राहुघाटको परामर्शदाता कम्पनी हो ।
राहुघाट जलविद्युत् आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले भारतीय निर्माण कम्पनी आइभीआरसीएलसँग २०६७ कात्तिक १८ गते रु दुई अर्ब ५० करोडमा सिभिल ठेक्का सम्झौता गरेको थियो । आइभिआरसीएलले सम्झौताअनुसार काम गरेको भए क्षमताको राहुघाटले २०७० सालमै विद्युत् उत्पादन सुरु गर्ने थियो ।
कमजोर आर्थिक अवस्थाका कारण काम गर्न नसकेपछि विद्युत् प्राधिकरणले २०७२ सालमा आइभीआरसीएलसँगको ठेक्का रद्द गर्यो । ठेक्का तोडिँदा पाँच वर्षको अवधिमा आयोजनाको भौतिक प्रगति १२ प्रतिशतमा सीमित थियो ।
प्राधिकरणले आयोजना पुनर्संरचना गरी क्षमता ३२ मेगावाटबाट बढाएर ४० मेगावाट बनाउने र कम्पनी मोडेलमा निर्माण अघि बढाउने निर्णय भयो । आइभीआरसीएलको ठेक्का रद्द भएपछि प्राधिकरणले २०७३ सालमा सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेड स्थापना गरी आयोजना अघि बढायो ।
भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको लगानीमा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्ट्र्याक्ट (इपिसी) प्रारूपमा राहुघाट निर्माण गर्ने प्रक्रिया अघि बढाइएको हो ।
नयाँ प्रक्रियाबाट छनोट भएको सिभिल ठेकेदार भारतीय कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी)सँग ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०७४ साल मङ्सिर ६ गते करिब रु छ अर्बमा ठेक्का सम्झौता भएको थियो । विसं २०७५ असारदेखि पहुँचमार्ग र २०७६ असार ८ गतेदेखि पिप्लेस्थित तेस्रो नम्बरको अडिटबाट सुरुङ निर्माण सुरु गरेको थियो । विसं २०८१ साउन १५ गते राहुघाटको मुख्य सुरुङ जोडिएको थियो ।
सन् २०२२ फेब्रुअरीमा पहिलो, सन् २०२२ फेब्रुअरीमा दोस्रो र २०२५ नोबेम्बरसम्मका लागि तेस्रोपटक म्याद थपिएको थियो । चौथोपटक थपिएको समयभित्र आयोजना सम्पन्न भएको हो । भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग २०७६ साल कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२ दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता भएको थियो । भेल भारत सरकारको स्वामित्वको कम्पनी हो ।
म्याग्दी उद्योग वाणिज्य संगका अध्यक्ष सुविन श्रेष्ठका अनुसार जिल्लामा सबैभन्दा पहिले र सरकारी लगानीमा सञ्चालन भएको राहुघाटलाई जलविद्युत् विकासको ‘गेटवे’ (प्रवेशबिन्दु) मानिएको थियो ।
“राहुघाट सुरु भएपछि म्याग्दीमा भित्रिएका १० वटा आयोजना सम्पन्न भइसकेका छन्”, उनले भने, “ढिलै भए पनि डेढ दशकको प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेकामा उत्साही भएका छौँ ।”







