११ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधानको एक दशक : चलाउने हात र बनाउनुपर्ने संस्कार

अ अ+ अ-

संविधान दिवस २०८३ का अवसरमा प्रधानमन्त्रीले व्यक्त गरेको-“संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने यो एउटा कागजमात्रै बन्नेछ”-भन्ने विचारले मलाई संविधान जारी भएको प्रारम्भिक समयका केही अनुभव सम्झायो।

त्यतिबेला नयाँ संविधानअनुसार प्रशासनिक संरचना निर्माणसम्बन्धी विभिन्न अध्ययन र परामर्शका काममा संलग्न हुने अवसर पाएको थिएँ। त्यस क्रममा सबै प्रदेशका प्रमुख सहर र विभिन्न समुदायमा पुगेर जनप्रतिनिधि, कर्मचारी, राजनीतिक नेतृत्व, नागरिक समाज र अन्य सरोकारवालासँग छलफल हुन्थ्यो। लगभग हरेक ठाउँमा एउटा प्रश्न दोहोरिन्थ्यो-“यो संविधान कार्यान्वयन हुन्छ त?”

मेरो उत्तर प्रायः छोटो हुन्थ्यो-“हुन्छ। तर एउटा सामान्य शर्त छ-हामी सबैले यसलाई मान्नुपर्छ र सम्मान गर्नुपर्छ।”

एक दशकभन्दा बढीको अभ्यासपछि फर्केर हेर्दा पनि त्यो उत्तरको मूल भाव सतही र असान्दर्भिक लागेको छैन। बरु त्यसबेला सहज रूपमा भनिएको “मान्ने र सम्मान गर्ने” भन्ने सर्तको अर्थ आज अझ स्पष्ट भएको छ।

संविधान मान्नु भनेको यसको धारा उल्लङ्घन नगर्नु मात्र होइन। आफ्नो अधिकारको सीमा स्वीकार गर्नु, अर्को संस्थाको अधिकारलाई सम्मान गर्नु, सार्वजनिक शक्ति प्रयोग गर्दा निजी वा समूहगत हितभन्दा माथि उठ्नु, प्रक्रियाप्रति इमानदार हुनु, असहमतिलाई स्वीकार गर्नु र नागरिकप्रति उत्तरदायी हुनु पनि संविधान मान्नु हो।

संविधानको प्रभावकारिता त्यसमा के लेखिएको छ भन्नेमा अवश्य निर्भर हुन्छ। तर त्यति नै महत्त्वपूर्ण प्रश्न हो-त्यसलाई चलाउने संस्था र पात्रहरूले कसरी व्यवहार गर्छन्?

चंखेलीमा देखेको आशा
२०७४ को निर्वाचनपछि नेपाल राष्ट्रिय शासकीय सर्वेक्षणको नेतृत्व गर्ने क्रममा फेरि देशका विभिन्न भूभाग र समुदायमा पुग्ने अवसर मिल्यो। नेपाल नयाँ सङ्घीय संरचनाको व्यावहारिक कार्यान्वयनमा प्रवेश गर्दै थियो। स्थानीय, प्रदेश र सङ्घीय तहमा निर्वाचित संरचनाहरू बन्दै थिए। संविधानले परिकल्पना गरेको तीन तहको शासन व्यवस्थाले आकार लिन थालेको थियो।

त्यस क्रममा हुम्लाको चंखेली गाउँपालिकामा स्थानीय नागरिकसँग भएको संवाद मेरो स्मृतिमा अझै ताजा छ।

भौगोलिक कठिनाइ, सीमित पूर्वाधार र राज्यसँगको लामो दूरीको अनुभव हुँदाहुँदै पनि त्यहाँ नयाँ व्यवस्थाप्रति एउटा उत्साह थियो। नागरिकहरूलाई सङ्घीयताको संवैधानिक व्याख्या कति थाहा थियो भन्ने अलग विषय हो। तर नयाँ व्यवस्थाले सरकार नजिक ल्याउला, सेवा सहज बनाउला, विकासका अवसर बढाउला र आफ्ना आवश्यकता तथा आवाज राज्यसम्म पुर्‍याउन सजिलो होला भन्ने अपेक्षा स्पष्ट थियो।

त्यो आशा संविधानको धाराप्रति मात्र थिएन; संविधानले उनीहरूको जीवनमा ल्याउन सक्ने परिवर्तनप्रति थियो।

यो चंखेलीमा मैले गरेको व्यक्तिगत अनुभूति मात्र थिएन। नेपाल राष्ट्रिय शासकीय सर्वेक्षण २०७४ नयाँ सङ्घीय संविधान कार्यान्वयनको प्रारम्भिक अवस्थामा नागरिकका शासकीय प्रणालीसम्बन्धी धारणा बुझ्न तयार गरिएको राष्ट्रिय आधाररेखा थियो। राजनीतिक दलका गतिविधिबारे जानकारी भएका उत्तरदातामध्ये करिब ८२ प्रतिशतले राजनीतिक दलहरूले तीन तहको सङ्घीय संरचनाको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा सकारात्मक अपेक्षा राखेका थिए।

यसको अर्थ त्यतिबेला नागरिकमा कुनै आलोचना वा अविश्वास थिएन भन्ने होइन। राजनीतिक संस्थाप्रतिको विश्वासमा सीमाहरू त्यही सर्वेक्षणमा पनि देखिएका थिए। नागरिक आशावादी थिए, तर आलोचनात्मक पनि थिए।

त्यो समय संविधानले एउटा ठूलो राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनमा रूपान्तरण गर्ने अपेक्षा बोकेको थियो।

आशादेखि निराशासम्मको दूरी
त्यसको आठ वर्षजति पछि, जेन-जेड आन्दोलन हुनुभन्दा केही समयअघि, मधेशका केही स्थानीय तहमा अध्ययनका क्रममा फेरि समुदायसँग संवाद गर्ने अवसर मिल्यो।

मनस्थिति फरक महसुस भयो।

जनप्रतिनिधिको व्यवहार, कर्मचारीतन्त्र, सार्वजनिक सेवा र राजनीतिक नेतृत्वप्रति नागरिकका गुनासा सुनिन्थे। कतिपय संवादमा सङ्घीय संरचनालाई नै अनावश्यक बोझका रूपमा हेर्न थालेको धारणा पनि सुनियो।

ती केही स्थानीय तहका संवादले देशभरको जनमतको प्रतिनिधित्व गर्दैनन्। तर बदलिँदो मनस्थिति बुझ्न ती सङ्केत महत्त्वपूर्ण थिए। २०७४ मा देखेको आशा र २०८२ मा सुनेको निराशाबीचको दूरी बेवास्ता गर्न सकिने खालको थिएन।

त्यसको केही समयपछि जेन-जेड आन्दोलनले नागरिक असन्तुष्टि, राजनीतिक व्यवहार, उत्तरदायित्व र सार्वजनिक संस्थाप्रतिको विश्वासका प्रश्नलाई अझ व्यापक रूपमा सतहमा ल्यायो।

यहाँ एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ-

एक दशकभन्दा कम समयमा नयाँ संवैधानिक व्यवस्थासँग जोडिएको ठूलो आशा किन यति तीव्र निराशामा परिणत भयो?

अनि अर्को प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ-

यो निराशा वास्तवमै संविधानसँग थियो कि संविधान कार्यान्वयन गर्ने हाम्रो तरिकासँग?

यी दुई एउटै कुरा होइनन्।

यसको अर्थ संविधानमा संरचनागत कमजोरी छैनन् वा संशोधन आवश्यक छैन भन्ने होइन। एक दशकभन्दा बढीको अभ्यासपछि समीक्षा स्वाभाविक छ। प्रश्न केवल यति हो-समस्याको स्रोत कहाँ छ भन्ने छुट्याएर समाधान खोजौँ।

समस्या संवैधानिक व्यवस्थामै छ ?

वा संविधानअनुसार आवश्यक संस्था बनाउन नसक्दा आएको हो?

संस्था बने, तर तिनले अपेक्षित काम गर्न नसक्दा आएको हो?

वा संस्था र अधिकार त भए, तर तिनलाई चलाउने पात्रहरूको व्यवहार संविधानको भावनाअनुकूल हुन नसक्दा समस्या आएको हो?

यी समस्याको समाधान एउटै हुँदैन।

एउटा विधेयकले देखाएको ठूलो समस्या
यस सन्दर्भमा सङ्घीय निजामती सेवा विधेयकको अन्तिम चरणमा देखिएको प्रकरण उल्लेखनीय छ।

लामो छलफलपछि संसदीय समितिले स्वीकार गरेको ‘कुलिङ अफ पिरियड’सम्बन्धी व्यवस्थाको मर्मसँग नमिल्ने प्रावधान अन्तिम विधेयकमा परेको विषय सार्वजनिक भएपछि ठूलो विवाद भयो। त्यसबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रणालीगत लापरबाही, आवश्यक विधायिकी सावधानीको अभाव र संस्थागत असफलता भएको निष्कर्ष निकाल्यो। उसले संसदीय समिति, सचिवालय र सम्बन्धित अधिकारीहरूको जिम्मेवारीमाथि समेत प्रश्न उठायो।

त्यो घटनालाई संविधानको कमजोरी भनेर व्याख्या गर्न गाह्रो छ।

संविधानले संसद् दिएको थियो। संसदीय समिति थियो। सरकार थियो। कर्मचारीतन्त्र थियो। कानुन बनाउने प्रक्रिया थियो। जिम्मेवारी तोकिएका संस्था थिए।

तर प्रक्रिया, इमानदारी, उत्तरदायित्व र संस्थागत मर्यादामै समस्या आयो भने संविधानमा अर्को धारा थपेर मात्र त्यो समस्या समाधान हुँदैन।

त्यो घटना एउटा विधेयकको प्रावधान वा प्रक्रियागत त्रुटिभन्दा ठूलो थियो। यस्ता घटनाले संसद्, सरकार र प्रशासनप्रतिको नागरिक विश्वासमा क्षति पुर्‍याउन सक्छन्।

संविधानले संसद् बनाउन सक्छ; संसदीय मर्यादा संविधानले एक्लै बनाउन सक्दैन।

संविधानले प्रशासनिक संरचना दिन सक्छ; पेसागत इमानदारी, निष्पक्षता र सार्वजनिक उत्तरदायित्व व्यवहारबाट निर्माण हुन्छ।

संविधानसँगै संवैधानिक संस्कार
यो नयाँ प्रश्न पनि होइन। नेपालको संविधान जारी भएकै दिन तत्कालीन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान राम्रो भएर मात्र नपुग्ने, यसको कार्यान्वयनकर्तामा इमानदारी र प्रतिबद्धता आवश्यक हुने बताएका थिए। उनले संविधानले शासन पद्धतिका सिद्धान्त तय गर्न सक्ने तर बुद्धि, विवेक र क्षमता बाँड्न नसक्ने स्मरण गराएका थिए।

त्यसभन्दा धेरै पहिले सन् १९४९ मा बी.आर. अम्बेडकरले भारतीय संविधानसभामा यस्तै आधारभूत प्रश्न उठाएका थिए। उनको तर्कको सार थियो-संविधान कति राम्रो छ भन्ने मात्रले त्यसको परिणाम निर्धारण गर्दैन; त्यसलाई चलाउने व्यक्ति र संस्थाहरूको व्यवहार निर्णायक हुन्छ।

यसको अर्थ संविधानको संरचना महत्त्वहीन छ वा त्यसबारे चर्चा गर्नु हुँदैन भन्ने होइन। बरु संविधान आफैँले सबै कुरा गर्न सक्दैन भन्ने हो।

संविधानले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको संरचना दिन सक्छ। सङ्घ, प्रदेश र स्थानीय तहको अधिकार बाँड्न सक्छ। मौलिक हक प्रत्याभूत गर्न सक्छ। समावेशिता, उत्तरदायित्व र शक्तिको सन्तुलनका सिद्धान्त दिन सक्छ।

तर संविधानले आफूलाई चलाउने राजनीतिक संस्कार आफैँ उत्पादन गर्दैन।

त्यो अभ्यासबाट निर्माण हुन्छ।

शक्ति प्राप्त गरेपछि कति संयमित भएर प्रयोग गर्ने?

आफ्नो अधिकारसँगै अर्को संस्थाको अधिकार स्वीकार गर्ने कि नगर्ने?

संविधानले अपेक्षा गरेको अधिकार बाँडफाँट व्यवहारमा कति उतार्ने?

असहमतिलाई विरोधका रूपमा लिने कि लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक आयाम मान्ने?

नियुक्तिमा योग्यता, निष्पक्षता र सार्वजनिक हितलाई कति प्राथमिकता दिने?

कर्मचारीले राजनीतिक नेतृत्वप्रति उत्तरदायी हुँदै गर्दा पनि आफ्नो पेसागत मर्यादा र निष्पक्षता कायम राख्ने कि नराख्ने?

यी प्रश्नको उत्तर संविधानका धारामा मात्र पाइँदैन।

यसैले प्रधानमन्त्रीले प्रयोग गरेको “चलाउने हात” भन्ने बिम्बलाई राजनीतिक नेतृत्वमा मात्र सीमित गर्नु पनि हुँदैन।

संविधान चलाउने जिम्मेवारी सरकार वा राजनीतिक नेतृत्वको मात्र होइन। संसद्, दल, प्रदेश र स्थानीय सरकार, न्यायपालिका, संवैधानिक निकाय, कर्मचारीतन्त्र, सार्वजनिक तथा प्राज्ञिक संस्था, सञ्चारमाध्यम, नागरिक समाज र नागरिक स्वयं सबै यसको अभ्यासका हिस्सा हुन्।

त्यसैले संविधानको एक दशकको समीक्षा भनेको सबैले अरूलाई हेर्ने समय मात्र होइन; आफूलाई पनि हेर्ने समय हो।

१२४ वर्षको ‘युवा’ संघीयता
नयाँ व्यवस्था संस्थागत हुन समय लाग्छ। संरचना खडा हुनु र संस्था संस्थागत हुनु एउटै कुरा होइन।

विश्वका अरू संघीय अनुभवले पनि यही देखाउँछन्।

अमेरिकी संविधान प्रस्ताव भएपछि त्यसको अनुमोदनका पक्षमा अलेक्जेन्डर ह्यामिल्टन, जेम्स म्याडिसन र जोन जेले ८५ वटा निबन्ध लेखे, जसलाई पछि ‘फेडरलिस्ट पेपर्स’ भनियो। तिनले संविधानको पक्षमा राजनीतिक तर्क मात्र गरेनन्; नयाँ शासन व्यवस्था, शक्ति विभाजन र सङ्घीय संरचनाबारे सार्वजनिक समझ निर्माण गर्न पनि योगदान गरे।

भारत स्वतन्त्र भएपछि जवाहरलाल नेहरूले प्रदेशका मुख्यमन्त्रीहरूसँग नियमित पत्राचारलाई शासनको अभ्यास बनाएका थिए। उनले प्रत्येक महिनाको १ र १५ तारिखमा पत्र लेखेर केन्द्र र प्रदेशबीच महत्त्वपूर्ण घटनाक्रम, नीति र राष्ट्रिय प्रश्नमा निरन्तर सम्पर्क कायम राख्ने प्रस्ताव गरेका थिए। नयाँ व्यवस्था चलाउन संरचना मात्र होइन, संवाद र साझा बुझाइ पनि आवश्यक हुन्छ भन्ने त्यो अभ्यासले देखाउँछ।

तर मलाई सबैभन्दा धेरै सम्झना रहने प्रसङ्ग केही वर्षअघि नेपालका लागि अस्ट्रेलियाली राजदूतसँग भएको कुराकानी हो।

सङ्घीयताबारे कुराकानी सुरु गर्दा उनले आफ्नो देशको परिचय दिँदै भनेकी थिइन्-“म १२४ वर्ष ‘युवा’ संघीय व्यवस्था भएको देशको प्रतिनिधित्व गर्दछु। हामी अझै पनि यसलाई कसरी संस्थागत गर्ने र अझ उन्नत बनाउने भन्ने सिकाइमै छौँ।”

मेरो स्मृतिमा उनको वाक्यको सबैभन्दा महत्त्वपूर्ण शब्द “युवा” हो।

एक सय चौबीस वर्षको सङ्घीय अभ्यासलाई पनि “युवा” भन्दै अझै सिक्दै छौँ भन्ने सोच र हामीले दश वर्षमै सङ्घीय शासन प्रणालीको अन्तिम हिसाब निकाल्न खोज्ने प्रवृत्तिबीच गहिरो अन्तर छ।

यसको अर्थ दश वर्ष कम भयो, अब कमजोरी नहेरौँ भन्ने कदापि होइन। बरु ठीक उल्टो हो। दश वर्षको अनुभवलाई कठोर र इमानदार ढङ्गले समीक्षा गरौँ। तर संस्थागत विकासलाई घटना होइन, प्रक्रियाका रूपमा बुझेर गरौँ।

लोकतान्त्रिक व्यवहार पनि संविधान जारी भएको दिनबाट पूर्ण विकसित हुँदैन। नेतृत्व, राजनीतिक दल, प्रशासन र नागरिक समाज सबैले सिक्दै जानुपर्छ।

नेपालको लोकतान्त्रिक अभ्यास स्वयं धेरै लामो छैन। त्यसले केही कमजोरी किन उत्पन्न भए भनेर बुझ्न सहयोग गर्न सक्छ; तर ती कमजोरीलाई अनन्तकालसम्म उचित ठहर्‍याउने बहाना बन्न सक्दैन।

संशोधन आवश्यक हुन सक्छ, तर पहिले समस्या पहिचान
अहिले संविधान संशोधनको बहस स्वाभाविक रूपमा अगाडि आएको छ। सरकारद्वारा गठित कार्यदलले शासन प्रणाली, निर्वाचन, सङ्घीय संरचना, प्रदेश तथा स्थानीय तह, न्यायपालिका र संवैधानिक निकायलगायतका विषयमा प्राप्त सुझाव समेटेर बहसपत्र बुझाइसकेको छ। कार्यदल स्वयंले ती सुझावलाई अन्तिम संशोधन प्रस्ताव नभई थप राजनीतिक र सार्वजनिक छलफलको आधार भनेको छ।

संविधान कुनै अपरिवर्तनीय दस्तावेज होइन।

अभ्यासबाट कुनै व्यवस्था अस्पष्ट, अव्यावहारिक वा अपेक्षित परिणाम दिन नसक्ने देखिएको छ भने त्यसलाई संवैधानिक प्रक्रियाबाट सुधार्नु स्वाभाविक हो। संविधानलाई सम्मान गर्नु भनेको त्यसलाई जस्ताको तस्तै राख्नु होइन।

तर संशोधनलाई प्रत्येक समस्याको पहिलो उत्तर बनाउनु पनि उचित हुँदैन।

समस्या संविधानको प्रावधानमा छ? प्रावधान सच्याऔँ।

समस्या संस्था नबन्दा आएको छ? संस्था बनाऔँ।

समस्या काम गर्ने तरिकामा छ? कार्यप्रणाली सुधारौँ।

समस्या व्यवहार र इमानदारीमा छ? संरचना मात्र फेरेर समाधान खोज्नु पर्याप्त हुँदैन।

संरचना बदल्दा पात्रको व्यवहार स्वतः बदलिँदैन।

नयाँ अधिकार बाँडफाँटले शक्ति प्रयोग गर्ने पुरानो संस्कार आफैँ हटाउँदैन।

नयाँ संरचना घोषणा गर्दैमा संस्थागत क्षमता निर्माण हुँदैन।

त्यसैले संविधान संशोधनको बहसभन्दा अघि र त्यससँगै कार्यान्वयनको इमानदार लेखाजोखा पनि आवश्यक छ।

सङ्घीय सरकारले आफूलाई सोध्न सक्छ-संविधानले अपेक्षा गरेको शक्ति बाँडफाँट, सहकार्य र समन्वय व्यवहारमा कति उतारियो ?

संसद्ले सोध्न सक्छ-संविधान कार्यान्वयनका आवश्यक कानुन समयमै बने? कार्यपालिकामाथिको निगरानी प्रभावकारी भयो ? विधायिकी प्रक्रियाको मर्यादा जोगियो ?

प्रदेशहरूले सोध्न सक्छन्-प्राप्त संवैधानिक क्षेत्रलाई संस्थागत क्षमता र नागरिकले अनुभूत गर्ने परिणाममा कति बदल्न सकियो ?

स्थानीय सरकारहरूले सोध्न सक्छन्-नागरिकको नजिक पुगेको सरकार नागरिकप्रति बढी उत्तरदायी, निष्पक्ष र परिणाममुखी भयो ?

राजनीतिक दलहरूले सोध्न सक्छन्-आफ्नै आन्तरिक अभ्यास संविधानले अपेक्षा गरेको लोकतान्त्रिक मूल्यसँग कति मेल खान्छ ?

कर्मचारीतन्त्रले सोध्न सक्छ-एकात्मक शासन प्रणालीबाट आएको प्रशासनिक सोच संघीयता, राजनीतिक तटस्थता, व्यावसायिकता र नागरिकमुखी सेवाअनुकूल कति बदलियो ?

यो दोष खोज्ने अभ्यास होइन। यो संवैधानिक आत्मसमीक्षा हो।

अब दोस्रो दशक संस्थागत क्षमता विकासको बनाऔँ
संविधान जारी हुनु ऐतिहासिक उपलब्धि थियो। संविधानअनुसार निर्वाचन हुनु अर्को उपलब्धि थियो। सङ्घ, प्रदेश र स्थानीय तहका संरचना बन्नु आवश्यक कदम थियो।

तर संवैधानिक शासनको निर्माण त्यहीँ पूरा हुँदैन।

पहिलो दशक धेरै हदसम्म संरचना खडा गर्ने, कानुन बनाउने, अधिकारको अभ्यास सुरु गर्ने र नयाँ प्रणालीसँग परिचित हुने समय रह्यो। केही महत्त्वपूर्ण काम अझै अपूरा छन्।

अबको दशक अझ कठिन कामको हुनुपर्छ-संस्थागत क्षमता विकासको।

संस्थाहरू व्यक्तिभन्दा बलिया बनाउने।

शक्ति प्रयोगमा वैधानिकता सुनिश्चित गर्ने।

सङ्घीय तहहरूबीच प्रतिस्पर्धाभन्दा सहकार्यको संस्कार विकास गर्ने।

सार्वजनिक पदलाई अवसरभन्दा जिम्मेवारीका रूपमा लिने।

राजनीतिक नेतृत्व बदलिँदा पनि संस्थागत स्मृति, नियम र सार्वजनिक सेवा निरन्तर रहने।

र सबैभन्दा महत्त्वपूर्ण, नागरिकले संविधानको उपलब्धि दस्तावेज वा भाषणमा होइन, आफ्नो दैनिक जीवनमा अनुभव गर्ने।

संविधानको वास्तविक सफलता नागरिकले स्थानीय कार्यालय, अस्पताल, विद्यालय, प्रहरी, प्रशासन, अदालत वा निर्वाचित प्रतिनिधिसँगको सम्बन्धमा संविधानले गरेको वाचा अनुभूत गर्न थालेपछि देखिन्छ।

एक दशकअघि मलाई बारम्बार सोधिन्थ्यो-“यो संविधान कार्यान्वयन हुन्छ त?”

म भन्थेँ-हुन्छ, यदि हामी सबैले यसलाई मान्यौँ र सम्मान गर्‍यौँ भने।

आज पनि उत्तर धेरै फरक छैन। तर “सम्मान” को अर्थ अब अझ स्पष्ट छ।

संविधानलाई सम्मान गर्नु भनेको त्यसलाई कहिल्यै नचलाउनु होइन। आवश्यक देखिएका प्रावधान संशोधन गर्नु पनि संविधानलाई सम्मान गर्नु हो।

एक दशकपछि प्रश्नलाई अझ परिष्कृत गरेर सोध्नुपर्ने भएको छ-संविधान कार्यान्वयनका लागि हामीले के गर्‍यौँ ? कहाँ प्रगति गर्‍यौँ, कहाँ चुक्यौँ ? के सिक्यौँ ? र अब के सुधार्नुपर्छ ?

संविधानको धारा बदल्नुअघि र बदलिसकेपछि पनि एउटा काम अपरिहार्य रहन्छ-यसले अपेक्षा गरेको संस्था, इमानदारी, संयम, उत्तरदायित्व र लोकतान्त्रिक व्यवहार निर्माण गर्नु।

संविधान संशोधन गरेर संरचना बदल्न सकिन्छ। संवैधानिक संस्कार भने संशोधनको धाराले होइन, निरन्तर अभ्यासले बन्छ।

लेखमा व्यक्त विचार लेखकका व्यक्तिगत हुन्।

0 Comments