काठमाडौँ । नेकपा एमालेकी सचिव एवं सांसद पद्या अर्यालले नेपालको निर्वाचन प्रणालीमा अझै पनि धनबल, बाहुबल र सञ्चारमाध्यमको प्रभाव कायम रहेको आरोप लगाएकी छन् ।
शुक्रवार ललितपुरमा निर्वाचन आयोगको सरोकारवालाहरूसँगको छलफलका क्रममा उनले यस्तो बताएकी हुन। उनले निर्वाचनमा पैसाको चलखेल, शक्तिको दुरुपयोग र मिडियाको प्रभावले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्ने गरेको बताइन् । आफूले निर्वाचन लड्दासमेत बुथ कब्जा र धाँधलीका घटना भोगेको उल्लेख गर्दै उनले त्यससम्बन्धी प्रमाण आफूसँग रहेको दाबी गरिन् ।
अर्यालले निर्वाचन प्रणाली सुधारका लागि पहिले विद्यमान विकृति र समस्या पहिचान गर्नुपर्ने बताइन् । लोकतान्त्रिक व्यवस्थामा नागरिक जहाँ रहे पनि मतदानको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिँदै उनले अन्तरजिल्ला तथा अन्तरदेशीय मतदानको व्यवस्था गर्दा व्यावहारिक कठिनाइलाई समेत सम्बोधन गर्नुपर्ने बताइन्।
उनले भनिन्, ‘लोकतान्त्रिक व्यवस्थामा हाम्रा नागरिकहरू जहाँसुकै भए पनि मताधिकारबाट वञ्चित हुनु हुँदैन । आफूले रोजेको प्रतिनिधिलाई प्रतिनिधिलाई मतदान गर्ने कुराको सुनिश्चितता गर्नुपर्छ । निर्वाचन आयोग त्यसको सुनिश्चिततातर्फ गएको कुरामा हाम्रो प्रशंसा छ । कहाँ साथ र सहयोग गर्नुपर्छ हामी तयार छौँ । अन्तरदेशीय र अन्तरजिल्ला निर्वाचनमा भावनाका कुराले हुँदैन, कतिपय व्यवहारिक कठिनाइहरू पनि छन् । यो बेलैमा हामीले समस्या पहिचान गरेको खण्डमा समाधानतर्फ हामी जान्छौँ, समस्या पहिचान गर्न सकेनौँ भने समाधान हुँदैन । काठमाडौँमा बसेको कर्णालीको मान्छेले काठमाडौँबाट मतदान गर्न र ७७ जिल्लामै गर्दा काठमाडौँका प्रत्येक निर्वाचन केन्द्रमा ७७ वटा मतपेटिका रहनुपर्छ । पालिकालाई पनि गर्ने व्यवस्था गर्ने हो भने कति हो कति । हाम्रो निर्वाचन क्लिन छैन । म चुनाव लड्दा मैले के भोगिनँ । एक सयमा ९९ प्रतिशत भोट आजसम्म खसेकै छैन । मेरो निर्वाचन क्षेत्रमा खस्यो । उपचार त भएन । मसँग छन्, तथ्यसहितका प्रमाण । यहाँ यहाँ बुथ कब्जा भयो, यहाँ धाँधली भयो, यसरी भोट हालियो भन्ने छ । आज पनि निर्वाचन मनीले, मसलले हुन्छ, मिडियाले प्रभावित हुन्छ ।’
उनले लोकतान्त्रिक व्यवस्थामा नागरिकहरू जहाँसुकै भए पनि मतदान गर्न पाउनुपर्ने बताइन् । अन्तरदेशीय र अन्तरजिल्लाको निर्वाचन गर्न केही कानूनी कठिनाइ हुनसक्ने भन्दै आयोगलाई सचेत गराइन् ।








