काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायात क्षेत्रमा कार्यरत सवारी चालक, सहचालकसहित सम्पूर्ण श्रमिक तथा रोजगारदातालाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आग्रह गरेको छ ।
सामाजिक सुरक्षा दिवस, २०८३ का अवसरमा शुक्रबार विज्ञप्ति जारी गर्दै विभागले यातायात क्षेत्रको जोखिमपूर्ण कार्यप्रकृतिलाई ध्यानमा राखेर कोषबाट उपलब्ध हुने सामाजिक सुरक्षाका सुविधाको लाभ लिन अनुरोध गरेको हो ।
विभागका अनुसार कोषमा आबद्ध श्रमिकले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअन्तर्गतका सुविधा प्राप्त गर्न सक्नेछन् ।
कार्यस्थल वा सवारी दुर्घटनामा परे उपचार खर्च तथा अंगभंग भई अशक्त भए आजीवन पेन्सनको व्यवस्था छ । योगदानकर्ताको मृत्यु भएमा आश्रित पति वा पत्नीलाई आजीवन पेन्सन, सन्ततिलाई शैक्षिक वृत्ति तथा अन्तिम संस्कार खर्च उपलब्ध हुने व्यवस्था रहेको विभागले जनाएको छ ।
त्यस्तै बिरामी पर्दा तथा सुत्केरी अवस्थामा उपचार खर्च र अवकाशपछि जीवनयापनका लागि पेन्सन तथा अवकाश सुविधा प्राप्त गर्न सकिनेछ ।
विभागका निर्देशक लोकनाथ भुसालद्वारा जारी विज्ञप्तिमा नजिकको सामाजिक सुरक्षा कोषको कार्यालय, सम्बन्धित यातायात व्यवसायी महासंघ वा समिति तथा अनलाइन प्रणालीमार्फत सूचीकृत हुन सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरिएको छ ।







