काठमाडौँ । नेपाल मत्स्य समाजको सातौँ वार्षिक साधारण सभा तथा अधिवेशनले युगल किशोर तिवारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
शुक्रबार ललितपुरको धोबीघाटमा भएको साधारण सभा तथा अधिवेशनले समाजको नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यक्रममा बोल्दै कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले मत्स्यपालन कृषकको जीविकोपार्जन र आयआर्जनका साथै मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण क्षेत्र भएको बताइन् । उनले मत्स्यपालन क्षेत्र सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै यस क्षेत्रमा विद्यमान समस्या तथा चुनौती समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।
कार्यक्रममा राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा. श्याम नारायण लाभ, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालसहित मत्स्यपालन क्षेत्रका विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता तथा कृषि प्रसारमा संलग्न ६० जनाभन्दा बढी सरोकारवालाको सहभागिता थियो ।







