काठमाडौँ । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीको एकता कायम राख्न र मुलुकलाई राजनीतिक स्थिरता तथा समृद्धिको दिशामा अघि बढाउन शेरबहादुर देउवाको नेतृत्व आवश्यक रहेको बताएका छन् ।
काँग्रेसको देउवा पक्षले १५औँ नियमित महाधिवेशनअन्तर्गत आइतबार धनगढीमा आयोजना गरेको कैलाली जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै शाहले पार्टी र राष्ट्रिय एकताका लागि देउवाको विकल्प नरहेको जिकिर गरे ।
देउवाको नेतृत्वमा हुने महाधिवेशनमा सहभागी जनप्रतिनिधिमाथि कारबाही गर्ने गगनकुमार थापाको चेतावनीप्रति आपत्ति जनाउँदै शाहले राजनीतिक दबाब र धम्कीबाट विचलित नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
विसं २००३ देखि विभिन्न चुनौती र संघर्ष पार गर्दै आएको काँग्रेस कुनै पनि डर, धम्की वा दबाबबाट पछि नहट्ने उनको भनाइ छ । पार्टीको अस्तित्व, सैद्धान्तिक आधार र लोकतान्त्रिक मूल्य-मान्यताको संरक्षणका लागि जस्तोसुकै चुनौती सामना गर्न तयार रहनुपर्नेमा उनले जोड दिए ।
कैलाली जिल्ला सभापति नारायणदत्त भट्टको अध्यक्षतामा जारी अधिवेशनमा काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामजनम चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
आयोजकका अनुसार कैलालीका १३ स्थानीय तह र पाँच निर्वाचन क्षेत्रबाट अधिवेशनमा तीन हजार १६२ जना क्षेत्रीय प्रतिनिधि सहभागी छन् ।







