काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेसका सभापति शेरबहादुर देउवासँग सकारात्मक छलफल भएको बताएका छन् ।
सभामुख देवराज घिमिरेले शनिबार प्रधानमन्त्री प्रचण्ड, ओली र काँग्रेस सभापति देउवालाई संसद्का गतिविधिबारे छलफल गर्नका लागि आफ्नो कार्यकक्ष सिंहदरवारमा बोलाएर छलफल गरेका थिए । उक्त छलफलमा सकारात्मक रहेको ओलीले बताए ।
ओलीले केही दिनभित्र फेरि छलफल हुने पनि बताएका छन् । उनले भने, ‘सदनका कामकारबाहीको सम्बन्धमा, सदनलाई कसरी प्रभावकारी, गतिशील ढङ्गले चलाउने र अहिले आइरहेका समस्या कसरी समाधान गर्ने भन्ने सम्बन्धमा छलफल सकारात्मक भयो । टीआरसी विधेयकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल भएको छ । फास्ट ट्र्याक कति गर्न मिल्छ, कति मिल्दैन, समितिमा कुनै न कुनै हिसाबले लानुपर्ने होला ।’
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई कसरी अगाडि बढाउने, संसद्का विषयगत समिति गठन लगायतका विषयमा छलफल भएको उनको भनाइ छ ।







