काठमाडौँ। रुपन्देहीको लुम्बिनीबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशूली नदीमा बस खस्दा बेपत्ता भएका नेपाली काँग्रेसका युवा नेता प्रकाश पाठकको शव बिहीबार दिउँसो फेला परेको छ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले यसको पुष्टि गर्दै पाठकको विषयमा सुनेको खबरले आफू स्तब्ध भएको जनाएका छन् ।
मंगलबार साँझ रुपन्देहीबाट काठमाडौँका लागि छुटेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बुधबार बिहान पौने ५ बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेँसीस्थित सडकबाट त्रिशूली नदीमा खस्दा घटनास्थलमै ७ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी घाइते भएका थिए ।
प्रहरी र स्थानीयले अधिकांश घाइतेलाई सकुशल उद्धार गरेपनि पाठकसँगै हराइरहेका तीन यात्रुमध्ये प्रकाश पाठकको शव घटनास्थलभन्दा ७ किलोमिटर तल नदीमा फेला परेको जनाइएको छ । पाठकको शव आज अपराह्न पौने ४ बजे शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारी नदीबाट बाहिर निकालेको हो ।
