काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बजेटमा मुख्य आर्थिक सुधारका रूपान्तरणकारी रणनीतिहरूमा नयाँ क्षेत्रको रूपमा आईटीलाई राखिएको बताएका छन् ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा आर्थिक सुधारका मुख्य पाँच रूपान्तरणकारी रणनीतिमा कृषि, ऊर्जा, सूचना प्रविधि (आईटी), पर्यटन प्रवर्द्धन र औद्योगिक क्षेत्र प्रस्तुत गरेको छ ।
बजेटमा प्रस्तुत पाँच रूपान्तरणकारी रणनीतिमध्ये आईटी अर्थात् सूचना प्रविधि नयाँ भएको अर्थमन्त्री पुनले बुधबार आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् ।
आर्थिक सुधारका पाँच रूपान्तरणकारी रणनीतिहरूमा कृषि क्षेत्र आधार स्तम्भ रहेको उनले बताए । बजेटमा सूचना प्रविधिमा नेपालले १० वर्षमा ३० खर्बसम्मको निर्यात गर्ने लक्ष्य उल्लेख गरिएको छ ।
बजेटमा काठमाडौँलाई आईटी हब बनाउने घोषणा गरिएको छ । अर्थमन्त्री पुनले आईटी पार्क अर्थात् हब बुटवलमा पनि बनाइने बताए । हरेक प्रदेशको नीति तथा कार्यक्रममा पनि आईटी हबका लागि स्थान बनाइने कुरा आइसकेको उनको भनाइ छ ।