काठमाडौँ । औद्योगिक पूर्वाधार महाशाखाले नवप्रवर्तनकारी उद्यमीलाई पुरस्कृत गरेको छ ।
बिहीबार (आज) सिंहदरवार स्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्री दामोदर भण्डारी र सचिव कृष्ण बहादुर राउतले सम्मान पत्र वितरण गरेका हुन् ।
हाइ हिमालय अर्गानिक उद्योग, माउन्टेन बी कन्सर्न उद्योग र रुपन्देही जिल्लाको श्री आवास फर्निचर इण्डष्ट्रिज उद्योगका उद्यमीहरु पुरस्कृत भएका छन् ।
हाइ हिमालय अर्गानिक उद्योगले कृषिमा प्रयोग गरिने प्राङ्गारिक मल र किटनाशक औषधि, बालि संरक्षक उत्पादन गरिरहेको छ । उक्त उत्पादनकालागि स्थानीय स्तरमा नै प्राप्त कच्चा पदार्थको प्रयोग गर्नका साथै आवश्यक जीवाणुहरू विभिन्न स्थानबाट संकलन र निर्माण गरी उत्पादन गर्दै आएको छ ।
यस्तै माउन्टेन बी कन्सर्न उद्योगले माहुरीको घार राखी मह उत्पादन गर्दै आएको छ । प्रत्यक्ष रूपमा ३७ र अप्रत्यक्ष रूपमा करिब ८०० जना लाई रोजगार प्रदान गर्दै आएको यो उद्योगले देश भरी नै महको बिक्री वितरण गर्नका साथै जापान, रसिया, बैंकक, भारत, बङ्गलादेश, मलेसिया लगायतका देशमा निर्यात समेत गर्दै आएको छ ।
माहुरीको घारमा आवश्यक पर्ने रानी माहुरी आफैँ कृत्रिम गर्भाधान गरेर बनाउने गरेको नवप्रवर्तनकारी कार्यले यो उद्योगको विकास र विस्तारमा ठुलो योगदान पुर्याएको छ ।
यसैगरी रुपन्देही जिल्लाको श्री आवास फर्निचर इण्डष्ट्रिज उद्योगले हाल सबै प्रकारका फर्निचर उत्पादन तथा विक्री गर्ने कार्य गर्दै आएको छ । फर्निचरलाई आवश्यक पलास्टिकको डोरी लगायतका सामान आफै उत्पादन गर्ने गरेको छ । यस उद्योगले करिब १ हजार २ सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरी बेरोजगार समस्या समाधानमा योगदान पुर्याउदै आएको छ ।
उद्योगहरुको मूल्याङ्कन गर्न मापदण्ड बमोजिमको औद्योगिक पूर्वाधार महाशाखाका प्रमुखको संयोजकत्वमा मूल्याङ्कन समितिले प्राप्त कागजातका आधारमा पूर्व मूल्याङ्कन गरी पुरस्कृत गरेको हो ।
नेपालभित्रै मूल्य सिर्जना वा नवीनता हाँसिल अनुसन्धान तथा खोजमूलक कार्यमा गरेको लगानीको अवस्था, उद्योगमा प्राविधिक र विषय विज्ञको संलग्नता, उद्योगका भावी कार्य योजना, उद्योग सञ्चालन, व्यवस्थापन र बजारीकरणको नवीनतम रणनीति, उद्योग स्थापना गरेको क्षेत्र, रोजगारी प्रदान गरेको संख्या, पेटेन्ट, डिजायन र ट्रेडमार्क दर्ताको अवस्था, उद्योगले गरेको कारोबार रकम र कर चुक्ता जस्ता विषयलाई मूल्यांकनको आधार बनाइएको थियो ।







