काठमाडौँ। प्रहरीको नक्कली इन्स्पेक्टर बनी ठगी कार्यमा संलग्न एक जना व्यक्ति पक्राउ परेका छन् । प्रहरी पोसाकको समेत दुरुपयोग गर्दै नक्कली इन्स्पेक्टर बनेर ठगी गरेको आरोपमा सुदीप थापा नाम गरेका व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको हो ।
काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका-७ थापाचोकका ३८ वर्षीय थापालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीसँगै कोटेश्वरमा रहेको मार्शल प्रिन्टिङ प्रेसका सञ्चालक ४४ वर्षीय किशोरकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
थापाले इन्स्पेक्टरको नक्कली परिचयपत्र देखाउने, प्रहरी पोसाक समेत देखाउने र उच्च पदस्थ व्यक्तिसँग खिचिएका तस्बिर समेत देखाएर ठगी गर्ने गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।
चौधरी भने नक्कली परिचयपत्र बनाएको आरोपमा पक्राउ परेका हुन् । थापाले क्यानडा, अस्ट्रेलियालगायत देशमा पठाउने भन्दै ठगी गरेको आरोप छ ।







