काठमाडौँ । राजावादी प्रदर्शनकारीले तीनकुनेमा एक घरमा लगाएको आगलागीमा परेर एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ।
रजक उक्त आगलागी भएको घरको छतमा बसेर प्रदर्शनकारीको भिडियो खिचिरहेका थिए। सोही क्रममा राजावादी प्रदर्शनकारीले निजी घरमा आगो लगाउँदा उनी जलेर मृत्युको मुखमा पुगेको बताइएको छ ।
विगत ५ वर्षदेखि क्यामेरापर्सनको रूपमा एभिन्युजमा कार्यरत रजकको मृत्युले मिडिया क्षेत्रमा शोक छाएको छ।
एक प्रहरी अधिकारीका अनुसार आगलागी भएको घरबाट एक जनाको शव निकालिएको छ । शवको पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको छ।
यसैबीच, प्रदर्शनका क्रममा भएको झडपमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको पनि मृत्यु भएको छ। प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ भने मृतक दुवैको शव पहिचान र पोस्टमार्टम प्रक्रिया अघि बढाइएको छ।
सम्बन्धित समाचार : तीनकुनेमा आन्दोलनको आगलागीबाट एक जनाको मृत्यु, स्थिति तनावग्रस्त