काठमाडौँ । अवैध कारोबार गरेको आरोपमा २१ जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले विभिन्न ११ जिल्लाबाट १७ अर्ब रुपैयाँभन्दा बढीको अवैध कारोबार गर्ने २१ जनालाई पक्राउ गरेको प्रवक्ता तथा एसपी सुधीरराज शाहीले प्रशासनलाई बताए ।
उनका अनुसार, पक्राउ पर्नेहरूमा मोरङका वीरेन्द्रप्रसाद साह, सोही ठाउँका दीपेन्द्रप्रसाद साह, महोत्तरीका श्रवणकुमार साह, सप्तरीका तारालाल यादव, सर्लाहीका हरेराम महतो, धनुषाका निरोजकुमार महतो, सोही जिल्लाका अलिता देवी महतो, प्रकाश सिंह, अरुणकुमार साह, सञ्जीवकुमार महतो छन् ।
यसैगरी पर्साका प्रदीपकुमार साह, नवलपरासीका राजकमल लोनिया, भीमकुमार गुरुङ, सप्तरीका रामविलास साह तेली, ममता कुमारी, पर्साका बिकर्णजंग राणा, नवलपरासीका गणपति पाण्डे, वीरगञ्जका सलमा खातुन, सप्तरीकी सुशीलाकुमार साहु, चितवनका गोविन्दप्रसाद आचार्य र सप्तरीका शम्भु मेहता छन् ।
उनीहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ बराबरको अवैध कारोबार गरेको शाहीले जानकारी दिए । प्रहरीका अनुसार भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार र कर छली लगायतमा संलग्न रहेका व्यक्ति तथा समूहले अवैध कारोबारबाट प्राप्त गरेको गैर कानुनी रकमलाई डिजिटल वालेट कम्पनीहरूको नाममा जम्मा गर्न लगाउने गरेको पाइएको छ ।