काठमाडौँ । विद्यालय बन्द गरेर शिक्षक-जनप्रतिनिधिहरू भ्रमणमा निस्किएका छन् । दैलेखको भगवतीमाई गाउँपालिकामा रहेको भैरवी माध्यमिक विद्यालय खोरका शिक्षक-जनप्रतिनिधिहरू विद्यालय नै बन्द गरेर भ्रमणमा निस्किएका हुन् ।
भ्रमणमा वडा अध्यक्ष र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले आफ्ना आफन्तहरूलाई समेत लगेको स्थानीयले आरोप छ । गएको बुधबार बिहानै विद्यालयबाट बस रिजर्भ गरेर भ्रमण टोली हिँडेपछि सयौँ विद्यार्थीको पठनपाठन ठप्प भएको छ।
शिक्षक र जनप्रतिनिधिहरूले विद्यार्थीको पढाइ नै रोकेर एक हप्ते शैक्षिक भ्रमणको प्रश्न उठाउँदै विद्यार्थी र अभिभावकले विद्यालयमा तालाबन्दी गरेका छन्।
असार मसान्तमा बजेट सक्ने हतारोमा विद्यालय नै बन्द गरेर उनीहरू परिवार सहित भ्रमणमा गएको भन्दै स्थानीय स्तरमा चर्को आलोचना भएको छ । विद्यालय व्यवस्थापन समितिको निर्णय भन्दै सोमबारदेखि विद्यालयमा तालाबन्दी गरिएको हो ।
यो कदम नमुना विद्यालय कार्यक्रमको नीति विपरीत र पूर्णतः मनोमानी गरेको भन्दै तालाबन्दी गरेको विद्यालय स्रोतले बताएको छ । स्रोतका अनुसार, नमुना विद्यालय कार्यक्रम अन्तर्गत शिक्षा विभागबाट प्राप्त ६ लाख रुपैयाँ अनुदान खर्च गर्न यो भ्रमण आयोजना गरिएको हो ।
यता पालिकाका अध्यक्ष गणेश बहादुर थापा भने यसबारेमा केही पनि जानकारी नभएको बताउँछन् । यस विषयमा प्रधानाध्यापक पूर्णबहादुर भण्डारीलाई प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन् ।







