काठमाडौँ । हेटौँडा प्रहरीले लागूऔषधसहित तीन जना युवालाई पक्राउ गरेको छ ।
प्रहरीले हेटौँडा औद्योगिक क्षेत्रको पानीट्यांकी नजिकबाट ट्रामाडोल १७७० क्याप्सुलसहित हेटौँडा उपमहानगरपालिका-१५ शिखरपानीका २४ वर्षीय महेश तामाङ, भिमफेदी गाउँपालिका घर भई हाल हेटौँडा-९ मा डेरा लिएर बस्ने २६ वर्षीय कैलाश थापा मगर र हेटौँडा-१३ का ४० वर्षीय सोम स्याङ्तानलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको टोलीले गस्ती गर्दै जाने क्रममा हेटौँडा औद्योगिक क्षेत्रभित्र पानीट्यांकी नजिक सडक खण्डमा ना. ३८ प ३१८५ नं. को मोटरसाइकल र ना २१ प १७१ को स्कुटर रोकेर बसिरहेको अवस्थामा प्रहरीले खानतलासी गर्दा लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।
उनीहरूमाथि लागूऔषध कसुर मुद्दामा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।







