काठमाडौँ । प्रभुराम शर्मा प्रधान सेनापति भएका बेला बर्खास्त गर्न भन्दै सैनिक अदालतले गरेको आदेशविरुद्ध सर्वोच्च अदालत गएका पूर्वउपरथी प्रेम शाहीले निवेदन फिर्ता लिएका छन् ।
पूर्वप्रधान सेनापति पूर्णचन्द्र थापानिकट रहेका शाहीले शर्माको पालामा आफूलाई बदनियपूर्वक कारबाही गरिएको जिकिर गर्दै आएका थिए । तर, शर्माले अवकाश पाएर अशोक सिग्देल नेतृत्वमा आएपछि उनले आफैँ निवेदन फिर्ता लिएका हुन् ।
अदालतका प्रवक्ता अच्युत कुईकेलका अनुसार रिट फिर्ता गर्न उनले निवेदन दिएका थिए ।
बुधबार अदालतका न्यायाधीश शारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले उनको माग अनुसार निवेदन फिर्ता हुने आदेश भएको प्रवक्ता कुईकेल बताए।







