काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरू मकवानपुरका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख विरुद्ध आन्दोलित बनेका छन् ।
जनप्रतिनिधिमाथि भएको आक्रमणका घटनामा संलग्न दोषीहरूलाई एक महिना बितिसक्दा पनि पक्राउ गर्न नसकेको भन्दै हेटौँडाका मेयर, उपमेयर र १९ वटै वडाका वडा अध्यक्षहरू प्रजिअ स्किम श्रेष्ठ र एसपी विश्वराज खड्काबिरुद्द आन्दोलनमा उत्रिएका हुन् ।
हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले प्रशासन र प्रहरीको निष्क्रियताविरुद्ध जनप्रतिनिधिहरू आन्दोलनमा उत्रन बाध्य भएको बताए ।
करिब एक महिना अघि वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेमाथि कालो मोसो दल्ने घटना भएको थियो । घटनामा संलग्न केही व्यक्तिहरू पहिचान भइसके पनि मुख्य आरोपित पक्राउ नगरेको भन्दै जनप्रतिनिधिहरू आक्रोशित बनेका हुन् ।
प्रवक्ता न्यौपानेले भने, “घटना भएको केही समयमै अनुसन्धान सुरु भयो, केही व्यक्ति नियन्त्रणमा पनि आए, तर मुख्य दोषीलाई अझै पनि पक्राउ गरिएको छैन । त्यसैले हामी अहिले जिल्ला प्रशासन कार्यालयमै आन्दोलनमा छौँ ।” उनका अनुसार अब वडामा बसेर काम गर्न असुरक्षित महसुस भएको हुँदा जनप्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालयमै बसेर सेवा दिन थालेका छन् । “वडाको सेवा रोकिन्न, तर हामी प्रशासन कार्यालयबाटै काम गर्छौँ,” न्यौपानेले भने ।
प्रहरी र प्रशासनप्रति गम्भीर आरोप
गत असार ४ गते वडा कार्यालयमै जनप्रतिनिधिमाथि हमला भएको थियो । सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेको समूहले जग्गा संरक्षण गर्न खोजेको भन्दै न्यौपानेमाथि आक्रमण गरेको थियो । उक्त आक्रमणबाट वडा अध्यक्षको टाउकोमा चोट लागेको थियो ।
“प्रहरी र प्रशासन निकम्मा साबित भएका छन् । यस्ता निकायबाट जनताले शान्ति र सुरक्षाको अनुभूति कसरी गर्ने?” वडा अध्यक्षले प्रश्न गरे । घटनापछि एक साता भित्र दोषीलाई पक्राउ गर्ने भनिए पनि एक महिना बितिसक्दा समेत कारबाही नभएकोप्रति उनले आक्रोश व्यक्त गरे ।
वडा अध्यक्षहरूले जिल्ला प्रशासन कार्यालयको प्रांगणमा टेबुल राखेर सेवा दिने निर्णय गरेका छन् । त्यसपछि थप आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिने जनाइएको छ ।
खोजी कार्य तिब्र परिएको प्रहरी र प्रशासनको भनाई
यसअघि मकवानपुर प्रहरीले रुम्बा थरका एक जनालाई आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो । तर परीक्षामा सहभागी गराउने भन्दै उनलाई हिरासत मुक्त गरिएको थियो । ती आरोपितले अन्य संलग्न व्यक्तिहरूबारे कुनै जानकारी नदिएको प्रहरी स्रोतले बताएको छ ।
आक्रमणमा संलग्नहरूलाई पक्राउ गर्न प्रहरी निरन्तर खटिएको प्रहरी प्रमुख एसपी खड्काले प्रशासनलाई बताए । खड्काले भने, “मुख्य दोषीको खोजी कार्य जारी छ । यसको अनुसन्धानको लागि प्रहरी कर्मचारीहरू तिब्र रूपमा फिल्डमै खटिरहनुभएको छ । उनीहरू सम्भावित स्थानहरूमा लुकेर बसिरहेका छन्, सर्च अपरेसन चलिरहेको छ ।”
उनका अनुसार, मुख्य आरोपित नेपालमै भए पनि सिमाना र ठेगाना परिवर्तन गर्दै हिँडिरहेका छन्, जसले गर्दा पक्राउ गर्न कठिन भइरहेको छ । यस्तै यता जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेलले पनि वडा अध्यक्षमाथि दुर्व्यवहार गर्ने व्यक्तिको खोजी कार्य तीव्र बनाइएको बताए ।
“मुख्य दोषीलाई हालसम्म भेट्न सकिएको छैन । तर खोजी कार्यमा कुनै कसर बाँकी राखिएको छैन,” कडेलले प्रशासनसँग भने । उनका अनुसार, अनुसन्धानलाई निष्कर्षमा पुर्याउने प्रयास निरन्तर भइरहेको छ ।







