काठमाडौँ । जेन जेड समूहले मंगलबार दिउँसो बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन्। सुरक्षाको कडाइबीच पनि उनीहरूले संसद् भवनमा आगो लगाइदिएका हुन्।
यसअघि प्रदर्शनकारीहरूले सिंहदरवारको मूल गेटमा समेत आगजनी गरेका थिए। सोमबार संसद भवन प्रवेश गर्ने क्रममा प्रहरीले गोली चलाउँदा कैयौँ विद्यार्थीको ज्यान गएको घटनापछि आन्दोलन अझ आक्रोशित बनेको हो।
सरकारी संरचनामाथि प्रत्यक्ष आक्रमण बढेसँगै आन्दोलन राजधानीका संवेदनशील केन्द्रमा प्रवेश गरेको छ। संसद भवनमा भएको आगजनीलाई आन्दोलनकारीहरूले राजनीतिक नेतृत्वप्रतिको गहिरो अविश्वासको प्रतीकका रूपमा चित्रित गरेका छन्।
मुलुकभर जारी प्रदर्शन थप हिंसात्मक बन्दै गएसँगै सरकारले नियन्त्रणका लागि ठूलो संख्यामा सुरक्षा बल परिचालन गरेको छ, तर आक्रोशित युवाहरूलाई रोक्न चुनौती झन् गहिरिँदै गएको देखिन्छ।







