काठमाडौँ। सुदूरपश्चिमको प्रमुख नाका गौरीफन्टा नाकाबाट भारत प्रवेशमा नेपालीलाई रोक लगाइएको छ ।
नेपालमा भएको पछिल्लो घटनाका कारण गौरीफन्टा नाकाबाट नेपाली नागरिकलाई भारत प्रवेशमा रोक लगाइएको हो ।
गड्डाचौकी र गौरीफन्टा नाकाबाट भारत प्रवेश गर्न खोजेका नेपालीलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले फर्काएको बताइएको छ । नेपालको पछिल्लो स्थितिलाई मध्यनजर गर्दै भारतले नेपाली नाकाहरूमा कडाइ गरेको छ । नेपालसँग जोडिएका नाकाहरूबाट आधार कार्डबिना प्रवेशमा रोक लगाएको हो ।
भारततर्फबाट प्राप्त आदेशका आधारमा रोक लगाइएको र नेपालका विभिन्न कारागारबाट कैदीबन्दी भागेपछि उनीहरू सीमा हुँदै भारत पस्न सक्ने आशंकाले सुरक्षामा कडाइ गरिएको बताइएका छ । जसका कारण विभिन्न कामले भारत प्रवेश गर्ने नेपालीहरू नाकामै रोकिएका छन् । भारतमै बसोबास गरिरहेका नेपालीहरू गन्तव्य तर्फ जान नपाएपछि समस्यामा परेका छन् ।
नेपालीहरूलाई प्रवेशमा रोक लगाउनुका साथै भारतबाट नेपाल प्रवेश गर्नेहरूलाई समेत कडा चेकजाँच गरिन थालिएको छ । नेपालको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै नेपाल आउनेहरूमाथि कडा चेकजाँच गरिएको स्वदेश फर्किएका नेपालीको गुनासो छ ।
यसैबिच कैलालीमा सेना परिचालन गरिएको छ ।







