काठमाडौँ । १८ स्थानीय तहको खाता सञ्चालनमा नआएपछि आर्थिक कारोबार ठप्प भएको छ । धनुषा जिल्लाका १८ स्थानीय तहको खाता सञ्चालनमा नआएको हो । यसले गर्दा कर्मचारी तलब–सुविधाबाट वञ्चित हुनुका साथै स्थानीय विकास निर्माणका कामसमेत प्रभावित भएका छन् ।
कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार जिल्लाका एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिकाको खाता अझै सञ्चालनमा आएको छैन । चालु आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा पनि खाता नखुल्दा बजेट खर्चसम्बन्धी गतिविधि अवरुद्ध भएको हो ।
कार्यालयका अनुसार खाता सञ्चालन गर्न स्थानीय तहले नगरसभा वा गाउँ सभा सम्पन्न गरी आर्थिक तथा विनियोजन विधेयक पारित गर्नुपर्ने, चालु वर्षको बजेट स्वीकृत गर्नुपर्ने र अघिल्लो वर्षको खर्चको विवरण बुझाउनुपर्ने कानुनी प्रावधान छ । तर धनुषाका अधिकांश स्थानीय तहले ती प्रक्रिया पूरा नगरेका कारण खाता बन्द रहेको बताइएको छ ।
१८ पालिकामध्ये १० पालिकाले त चालु आर्थिक वर्ष २०८२/८३ को बजेटसमेत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायत सम्बन्धित निकायमा पेस नगरेको कार्यालयले जनाएको छ । खाता सञ्चालनमा ढिलाइ हुँदा स्थानीय तहका योजना कार्यान्वयनमा समेत समस्या देखिएको छ ।







