सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र एक पुरुषको शव फेला परेको छ ।
भारतको बनारस घर भई हाल विराटनगर महानगरपालिका–६ मा बस्दै आएका लालजीप्रसाद गुप्ताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । मृतक गुप्ता ४० वर्षभन्दा बढी समयदेखि नेपालमा बस्दै आएका थिए ।
स्थानीयवासीले खोलामा फालिएको बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै प्रहरी उपरीक्षक मल्लसहितको टोली घटनास्थल पुगेको थियो ।
गुप्ताको मृत्यु कसरी भयो र घटनामा कसको संलग्नता छ भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मल्लले बताए ।




