काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश बचाउनका लागि जनता जाग्ने समय आएको बताएका छन् ।
अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष केसीले देशमा विदेशी चलखेल बढेको भन्दै जनता जाग्ने समय आएको बताए । अहिलेको अवस्थामा नेपालको रक्षाका लागि नेपाली जनता एक हुन आवश्यक रहेको उनको भनाइ थियो ।
“नेताहरू स्वच्छ र इमान्दार नभएका कारण यो समस्या आएको हो”, अध्यक्ष केसीले भने, “नेताहरूमा जनताको चिन्ताभन्दा अघिपछि हिँड्नेको चिन्ता हुँदा अहिले जेनजीले आन्दोलन गरेको हो ।”
नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंह राजनीतिक नेतृत्वमा आएपछि पहिलो पटक राजनीतिक कार्यक्रमलाई सम्बोधन गरेका छन् । अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ महाधिवेशनलाई उहाँले आज नारायणगढमा सम्बोधन गरेका हुन् ।
सम्बोधन गर्दै महामन्त्री सिंहले जेनजी आन्दोलनको फाइदा स्वार्थरत राजनीतिक दलहरूले लिएको बताए । जेनजी आन्दोलन भ्रष्टाचारको विरुद्ध भए पनि उग्र हुनु भनेको स्वार्थका लागि खेल खेलिएको आफूले महसुस गरेको उहाँले बताए ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल युवक संघका अध्यक्ष गणेश अधिकारी, अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव शालिकराम सापकोटालगायतले वर्तमान राजनीतिक परिवेशमा पार्टी र जनवर्गीय संगठनले खेल्नुपर्ने भूमिकाबारे आ–आफ्नो धारणा राखेका थिए । महाधिवेशन सोमबारसम्म चल्ने छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।







