काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सोमबारको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको ठाडो प्रस्तावमा महानिरीक्षक पदका प्रमुख दाबेदार कार्कीलाई कात्तिक २७ गतेदेखि लागू हुने गरी महानिरीक्षक नियुक्त गरिएको हो।
प्रहरी नियमावलीमा उल्लेखित ३० वर्षे सेवा अवधिका कारण वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्ग २६ कात्तिक राति १२ बजेदेखि अनिवार्य अवकाशमा जान लागेका छन् । सोअघि नै सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो । एआईजी कार्कीसँगै राजन अधिकारी, डा. मनोज केसी र सिद्धि विक्रम शाह गरी चार जना आईजीपी पदका प्रतिस्पर्धी रहेका थिए।
२४ भदौमा जेन जेड आन्दोलनको क्रममा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए । उपत्यका कमाण्ड सम्हाल्नुअघि कार्की प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत व्यवस्थापन विभागका प्रमुख थिए । डीआईजी हुँदा उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हालेका थिए भने एसएसपीको जिम्मेवारीमा रहँदा काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हालेका थिए, त्यही समयमा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो ।
काठमाडौँ हुँदै उपत्यकाको कमाण्ड सम्हाल्दै आएका कार्की प्रोफेसनल पुलिस अधिकारीका रुपमा चिनिएका छन् ।
आर्थिक बिबाद जोडिएको नसुनिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्मको अनुभव छ । उनले विदेशमा विभिन्न तालिमहरू पूरा गरेका छन् र नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए ।
नेपाल प्रहरीका ३३औं महानिरीक्षक (आईजीपी) मा नियुक्त कार्कीले २०५४ साल चैत १८ गते प्रहरी इन्सपेक्टरका रूपमा सेवामा प्रवेश गरेका थिए। विद्यमान प्रहरी नियमावलीमा तोकिएको ३० वर्षे सेवा अवधिका कारण उनी करिब साढे दुई वर्षसम्म नेतृत्वमा रहने छन्।







